फुङलिङ । ताप्लेजुङको सिदिङबा गाउँपालिकाको आङखोपमा पहिरोले घर पुरिँदा पाँच जना घाइते भएका छन्। स्थानीय हस्तबहादुर कटुवालको घर पहिरोले पुरिँदा उनका ५० वर्षीया श्रीमती ठगमाया कटुवाल गम्भीर घाइते भएकी छन्। अन्य चार जनाको अवस्था सामान्य रहेको छ।
कुलोमा बगेको पानी छेकिएर घरमाथिको खेतमा पस्दा पहिरो खसेर घर पुरिँदा परिवारका अन्य चार जना घाइते भएको आङखोपका वडाध्यक्ष रत्नबहादुर खत्रीले जानकारी दिए।
गएराति करिब १ बजे पहिरोले घर पुरिएको हो। पहिरोले एक्कासी घर पुरिएपछि छेउमा रहेको मतानमा सुतेका छोराबुहारीले आमाबुवाको तत्काल उद्दार गरेका थिए। पहिरोका कारण हस्तबहादुर, छोरा जगत कटुवाल, बुहारी सरस्वता कटुवाल र छोरी सम्झाना कटुवाल सामान्य घाइते भएका छन्।
घाइते ठगमायालाई गहिरो चोट लागेकाले थप उपचारका लागि एम्बुलेन्स झिकाइएको वडाध्यक्ष खत्रीले बताए। राति वर्षा नभए पनि सिँचाइका लागि ल्याइएको कुलो थुनिएर पानी खेतबारीमा खसेर पहिरो झरेको स्थानीयको भनाइ छ।घटनास्थलमा अहिले साब्लाखु प्रहरी चौकीको टोलीले अनुसन्धान तथा क्षतिको विवरण सङ्कलन गर्ने कार्य सुरु गरेको छ।