बिर्तामोड । झापामा लागूऔषध कारोबार गरिरहेको अवस्थामा जेनजी आन्दोलनमा हिरासतबाट भागेका थुनुवासहित ८ जना पक्राउ परेका छन् ।

आज साँझ ५ बजेको समयमा दमक नगरपालिका-३ वेलडाँगी भुटानी शरणार्थी शिविर सेक्टर ए३, हट नं. ३५३ बस्ने साजन थापाको घरबाट उनीहरू पक्राउ परेका हुन् । पक्राउ परेका एकजना आन्दोलनका समयमा हतियार लुट्ने कार्यमा संलग्न रहेको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा मोरङको मिक्लाजुङ गाउपालिका-८ बस्ने निश्चल पोर्तेल पनि रहेका छन् । उनी इलाका प्रहरी कार्यालय उर्लावारीमा लागु औषध मुद्धामा अनुसन्धानको क्रममा हिरासतमा थिए । भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा उनी हिरासतबाट भागेर फरार भएका थिए ।

पक्राउ परेका अर्का दमक नगरपालिका-३ बस्ने आदित्य लिम्बु छन् । उनी आन्दोलनका समयमा ईप्रका दमकबाट हतियार लुट्ने क्रममा संलग्न रहेको प्रहरीले जनाएको छ ।

IMG_20251011_212946

पक्राउ पर्ने अन्यमा दमक-३ वेलडाँगी भुटानी शरणार्थी शिविर सेक्टर ए३, हट नं. ३५३ बस्ने साजन थापा, ईलामको चुलाचुली-३ बस्ने दिपेश तामाङ, सनम राई, दमक-३ बस्ने प्रविन विश्वकर्मा, सुचन दर्जी र वेलडाँगी भुटानी शरणार्थी शिविर सेक्टर बि२, हट नं. १९१-१९२ बस्ने बिजय माझी रहेका छन् ।

सो स्थानमा लागूऔषध बिक्री वितरण गर्दै गरेको भन्ने गोप्य सुचनाको आधारमा इलाका प्रहरी कार्यालय दमकको टोलीले खानतलासी गर्दा उनीहरू पक्राउ परेका हुन् ।

उनीहरूको साथबाट ७ ग्राम ८०० मिलिग्राम ब्राउन सुगर बरामद भएको प्रहरीले जनाएको छ । पक्राउ परेका ८ जनालाई नै ईप्रका दमक ल्याएर अनुसन्धान सुरु गरिएको छ ।