झापा । सर्वाधिक पुरस्कार राशिको प्रथम झापा महिला गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिता आजदेखि सुरु हुँदैछ ।
शिवसताक्षी नगरपालिका–११ स्थित नवनिर्मित दूधे रंगशालामा हुने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भइसकेको गोल्डकपका अध्यक्ष सन्तोष थोप्राले जानकारी दिए ।
प्रतियोगितामा आज हुने उद्घाटन खेल विभागीय टोली नेपाल पुलिस क्लब र चर्च ब्वाइज युनाइटेडबीच हुनेछ । प्रतियोगिताका लागि खेलमैदान उत्कृष्ट र आकर्षक बनाइएको छ । तीन हजार दर्शक क्षमताको पक्कीको स्थायी प्यारापिटमा कुर्सी जडानको काम सकिएको छ । अतिथि र विशेष दर्शकका लागि ३०० वटा कुर्सी निर्माण गरिएको छ । १० हजार दर्शक क्षमताको बाँसको अस्थायी प्यारापिट बनाइएको अध्यक्ष थोप्राले बताए । यस गोल्डकपलाई यसअघि भएका महिला फुटबल प्रतियोगितामध्ये सबैभन्दा आकर्षक र भव्य बनाउने अपेक्षा लिएको उनको भनाई छ ।
त्यस्तै, दोस्रो खेल कात्तिक १८ गते नेपाल एपिएफ फुटबल क्लबविरुद्ध भारत सिक्किमको सिंग्लिङ स्पोर्टिङ क्लबले खेल्नेछ । तेस्रो खेल कात्तिक १९ गते संकटा फुटबल क्लबसँग झापा फुटबल क्लबले प्रतिस्पर्धा गर्नेछ । चौथो खेल कात्तिक २० गते त्रिभुवन आर्मी फुटबल क्लबले आरएस पोखरा फुटबल क्लबविरुद्ध प्रतिस्पर्धा गर्नेछ । प्रतियोगिताको पहिलो सेमिफाइनल खेल कात्तिक २१ गते हुनेछ भने अन्तिम सेमिफाइनल खेल कात्तिक २२ गते हुनेछ । झापा महिला गोल्डकपको फाइनल खेल कात्तिक २४ गते हुने छ ।
प्रतियोगिताको विजेता टिमले नगद १० लाख १० हजार रुपैयाँ पाउनेछ । त्यस्तै, उपविजेताले नगद पाँच लाख रुपैयाँ पाउनेछ । सर्वोत्कृष्ट खेलाडीलाई नगद एक लाख ५० हजार रुपैयाँ प्रदान गरिने अध्यक्ष थोप्राले जानकारी दिए । त्यस्तै, प्रतियोगिताको उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट फरवार्ड, उदीयमान खेलाडी, उत्कृष्ट प्रशिक्षक र उच्च गोलकर्ताले जनही नगद २५ हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।
प्रत्येक खेलको प्लेयर अफ द म्याचलाई नगद १५ हजार र ट्रफी प्रदान गरिनेछ । प्रतियोगितामा आठ वटा टिमको सहभागिता रहनेछ ।



















