बिर्तामोड । झापामा जापानीज इन्सेफलाइटिस (जेई) विरुद्धको खोप अभियान आजदेखि सुरु भएको छ। अभियान असोज ५ देखि १५ गतेसम्म सञ्चालन हुनेछ।

स्वास्थ्य कार्यालय झापाका प्रमुख बृजकुमार दासका अनुसार जिल्लाका १५ वटै पालिकामा ३० वर्षभन्दा माथिका ४ लाख ८५ हजार ५५ जनालाई जेईविरुद्धको खोप लगाउने लक्ष्य राखिएको छ।

झापा र कैलालीमा जापानीज इन्सेफलाइटिसको संक्रमण तथा मृत्युदर उच्च रहेकाले यी दुई जिल्लालाई उच्च प्राथमिकतामा राखेर खोप अभियान सञ्चालन गरिएको स्वास्थ्य कार्यालयले जनाएको छ।

स्वास्थ्य कार्यालयका अनुसार सन् २०२६ को जुनदेखि हालसम्म झापामा १३ जनामा जेई संक्रमण पुष्टि भएको छ। तीमध्ये ७ जनाको मृत्यु भइसकेको छ। यो संख्या देशभरका जिल्लामध्ये सबैभन्दा बढी हो।

मेचीनगर नगरपालिकामा मात्रै चार जनामा संक्रमण देखिएकोमा दुई जनाको मृत्यु भएको छ। अर्जुनधारा, बारहदशी, हल्दीबारी, कचनकवल, भद्रपुर र बिर्तामोड नगरपालिकामा जेई संक्रमणका कारण एक–एक जनाको मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ।

जेई संक्रमणबाट सुनसरी, सप्तरी, पर्सा, कैलाली र अर्घाखाँचीमा दुई–दुई जनाको मृत्यु भएको छ। मोरङ, इलाम, रौतहट, धनुषा, काभ्रेपलाञ्चोक, दाङ, तनहुँ, नवलपरासी पश्चिम, कञ्चनपुर र रोल्पामा एक–एक जनाको मृत्यु भएको जनाइएको छ।

खोप अभियान प्रभावकारी बनाउन जिल्लाका सबै पालिकामा आवश्यक जनशक्ति परिचालन गरिएको छ भने सबै पालिकामा जेई खोपसमेत आपूर्ति भइसकेको स्वास्थ्य कार्यालय प्रमुख दासले जानकारी दिए।