बिर्तामाेड । असार मसान्तमा पनि ऋणीहरूले साँवा र ब्याज तिर्न नतिरेपछि झापाका सहकारी संस्थाहरू स्थानीय तहसँग गुहार माग्न पुगे ।
त्यही गुहारलाई मानेर जिल्लाका केही पालिकाहरूले समयमै सहकारीको ऋण तिर्न आग्रह गर्दै नतिरे नाम सार्वजनिक गर्ने र कानुन बमोजिम कारबाही चेतावनीसमेत दिए ।
सबैभन्दा पहिला शिवसताक्षी नगरपालिकाले सूचना जारी गर्यो । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृतबहादुर राईले सूचना जारी गरी यदि समयमा सहकारीको ऋण नतिरी अटेर गरे वा सम्पर्कमा नजाने ऋणीहरूको नाम सार्वजनिक गर्नुका साथै प्रचलित कानुनबमोजिम कारबाही गर्ने चेतावनी दिए ।
त्यसपछि दमक नगरपालिकाका वरिष्ठ प्रशासकीय अधिकृत यज्ञराज निरौलाले पनि त्यही चेतावनीको भाषामा सूचना जारी गरे ।त्यसपछि गौरादह नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र भट्टराईले भने केही नम्र भाषामा सूचना जारी गरी आफ्नो सहकारी संस्थालाई समस्याग्रस्त हुनबाट बचाउन , सहकारी संस्थाबाट लिएको ऋण तोकिएको समयमा बुझाई कालो सूचीबाट जोगिन आग्रह गरे ।
झापा जिल्ला सहकारी सङ्घले सहकारीबाट लिएको ऋण उठाउने कार्यमा सहजीकरण गरिदिन स्थानीय तहलाई पत्राचार गरेको थियो । सङ्घको पत्र प्राप्त भएपछि शिवसताक्षी , दमक र गौरादह नगरपालिकाले ऋण लिएको सहकारीमा गएर ऋण तिर्न सार्वजनिक सूचना जारी गरेका हुन् । अन्य पालिकाहरूले भने सूचना निकालेका छैनन् ।
यसरी सहकारी संस्थाहरूको आग्रहलाई मानेर केही नगरपालिकाहरुले सूचना जारी गरेकोमा त्यसको तीव्र विरोध भएको छ । वित्तीय क्षेत्रमा देखिएको समस्या समाधान गर्न स्थानीय तहले पहल गर्नुपर्नेमा उल्टै ऋणीको नाम सार्वजनिक गर्ने धम्की दिएको भन्दै विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।




















