बिर्तामाेड । झापाको बिर्तामोडस्थित भाट–भटेनी सुपर स्टोर्स आजदेखि औपचारिक रूपमा पुनः सञ्चालनमा आएकाे छ । गत बर्षकाे भदाै २४ मा भएकाे आगजनीपछि बन्द रहेकाे भाटभटेनी आजदेखि सञ्चालनमा आएकाे हो ।

भाट–भटेनी सुपर स्टाेर्सका प्रमुख सञ्चालन अधिकृत पानु पौडेलका अनुसार आज आइतबारदेखि बिर्तामोड स्टोरबाट ग्राहकहरूलाई दैनिक रूपमा नियमित सेवा प्रवाह गरिएकाे बताए ।

ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दै आधुनिक पूर्वाधार र गुणस्तरीय सेवा उपलब्ध गराउने प्रतिबद्धता कम्पनीले यथावत् राखेको जनाएको छ । कम्पनीका अध्यक्ष तथा प्रबन्ध निर्देशक मीनबहादुर गुरुङले सम्पूर्ण ग्राहकवर्ग, शुभेच्छुक तथा सरोकारवालाहरूले देखाएको निरन्तर साथ, सहयोग र विश्वासप्रति हार्दिक आभार व्यक्त गरेका छन् ।
साथै, आगामी दिनहरूमा पनि यस्तै साथ र सहयोगको अपेक्षा गर्दै कम्पनीले बिर्तामोडबासीलाई स्टोरमा उपस्थितिका लागि हार्दिक अनुरोध समेत गरेको छ ।गत वर्षको भदौमा जेन्जी आन्दोलनका नाममा भएको विध्वंशकारी आक्रमणमा लुटेराहरुले बिर्तामोडमा भाटभटेनीमा समेत आगजनी र लुटपाट गरेका थिए ।