काठमाडौं । घरेलु टाेली नेपालले आइसिसी ट्वान्टी २० विश्वकप एसिया छनोटमा मलेसियामाथि ६ विकेटको सहज जित निकालेको छ ।

लगातार दोस्रो जितसँगै दुई खेलमा चार अंक जोडेको नेपालले समूह ए बाट एक खेल अगावै सेमिफाइनलमा स्थान बनाएको छ । दोस्रो पराजय व्यहोरेको मलेसिया भने समूह चरणबाटै बाहिरियो । नेपालको यो जितसँगै ओमानले पनि सेमिफाइनलमा स्थान बनाएको छ ।

मलेसियाले प्रस्तुत गरेको १ सय ६६ रनको लक्ष्य नेपालले १८ ओभरमा चार विकेट गुमाउँदै भेट्टायो । नेपालले पहिलो विकेटका रुपमा ओपनर कुशल भुर्तेललाई गुमाएको थियो । उनलाई व्यक्गित ४३ रनमा पवनदिप सिंहले शार्भिन मुनिएन्डीबाट क्याच गराए । कुशलले २५ बलमा समान चार चौका र चार छक्का प्रहार गरे । दोस्रो विकेटका रुपमा अर्को ओपनर आसिफ शेख २३ बलमा दुई चौका र एक छक्को मद्दतले ३२ रनमा पेभिलियन फर्किए । उनलाई ११.४ ओभरमा मोहम्मद अमिरले कट एन्ड बोल्ड गराए ।

१३.३ ओभरमा कप्तान रोहितकुमार पौडेललाई दुई रनमा अमिरले विजय उन्नीबाट क्याच गराएका थिए । चौथो विकेटका रुपमा कुशल मल्ल ३४ बलमा सात चौका र छक्काको मद्दतले ६५ रन बनाएर आउट भए । उनलाई १६.५ ओभरमा अमिरले कट एन्ड बोल्ड गराए । सन्दीप जोरा १८ रनमा अविजित रहे ।

दोस्रो विकेटका लागि कुशल मल्ल र आसिफले ६७ रनको साझेदारी गरे । मलेसियाका लागि मोहम्मद अमिरले तीन र पवनदिप सिंहले एक विकेट लिए । त्यसअघि जितेर ब्याटिङ रोजेको मलेसियाले निर्धारित २० ओभरमा नौ विकेट गुमाउँदै १ सय ६५ रनको योगफल तयार पारेको थियो ।

मलेसियाका लागि अजिजले ४९ बलमा आठ चौका र दुई छक्काको मद्दतले सर्वाधिक ६८ रनको योगदान गरे । उनलाई १४.४ ओभरमा गुल्शन झाले कुशल भुर्तेलबाट क्याच गराए । यसैगरी जुबैदी जुल्किफ्ली २४, विजय उन्नीले अविजित १३ र शार्भिन मुनिएन्डीले १३ रन बनाए । पहिलो विकेटका लागि अजिज र जुल्किफ्लीले ५८ रनको साझेदारी गरेका थिए । यो साझेदारी ५.५ ओभरमा अविनाश बोहराले जल्किफ्लीलाई कुशल मल्लबाट क्याच गराउँदै तोडेका थिए ।

नेपालका लागि अविनाश बोहराले चार तथा सन्दीप लामिछाने, कप्तान रोहितकुमार पौडेल र गुल्शन झाले समान एक विकेट लिए । नेपालले पहिलो खेलमा सिंगापुरलाई आठ विकेटले पराजित गरेको थियो । मलेसिया पहिलो खेलमा ओमानसँग ३२ रनले पराजित भएको थियो ।

बिहीबार नेपालले ओमान र मलेसियाले सिंगापुरको सामना गर्नेछ । यसैगगरी मुलपानीमा सम्पन्न खेलमा युएइएले कुवेतलाई पाँच विकेटले पराजित गरेको छ । अर्को वर्ष अमेरिका र वेस्ट इन्डिजमा हुने २० ओभरको विश्वकपको अन्तिम छनोटमा नेपालसहित आठ टोलीले प्रतिष्पर्धा गरिरहेका छन् । प्रतियोगिताबाट शीर्ष दुई टोलीले विश्वकपको खेल्ने छन् ।