बिर्तामोड । भारतीय ट्रकमा आगजनी गरेको अभियोगमा ९ जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाण्डौमा पक्राउ परेका प्रसाईको रिहाइको माग गर्दै झापामा दुईवटा भारतीय ट्रकमा आगजनी गरिएको थियो ।

पक्राउ पर्नेमा दुर्गा प्रसाईले गठन गरेको 'राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृती र नागरिक बचाउ महाअभियान' र  त्यसको युवा संगठन नागरिक प्रतिरक्षा बल (पिडिएफ) का नेता कार्यकर्ता रहेका छन् । 

प्रहरीले मंगलबार नागरिक प्रतिरक्षा बलका जिल्ला संयोजक भीम तुम्बापोलाई झापाको धरमपुरबाट नियन्त्रणमा लिएको थियोे । बिर्तामोडबाट मंगलबार नै अभियानकर्मी सुरेश चौधरी पक्राउ परेका थिए ।

यसैगरी हल्दीबारी गाउपालिका-२ का बिवश लिम्बू , हल्दीबारी-१ वीरबहादुर गुरुङ, खेमराज दाहाल, अर्जुनधारा नगरपालिका-९ का रुद्र भुजेल, बिर्तामोड नगरपालिका-३ का उदय लिम्बु , बुद्धशान्ति गाउपालिका-४ का बलिहाङ लिम्बू र मेचीनगर नगरपालिका-६ का राजेश महत पक्राउ परेका छन् ।

उनीहरूले भारतीय ट्रकमा आगजनी गर्नुका साथै अन्य सवारी साधनमा पेट्रोल छर्केर आगजनी गर्ने प्रयास गरेको प्रहरीले जनाएको छ ।  झापाको चारपानेमा पेट्रोल छर्केर अरु सवारी साधनमा आगजनी गर्ने उनीहरुको प्रयास प्रहरीले विफल बनाएको जनाएको छ । पक्राउ परेका अभियुक्तलाई ईलाका प्रहरी कार्यालय अनारमनीमा राखेर अनुसंधान सुरु गरिएको छ ।

पक्राउ परेकामाथि आपराधिक उपद्रव र ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरिएको प्रहरीले जनाएको छ । ट्रक चालकलाई भित्र थुनेर आगजनी गरिएको थियो । दुबै ट्रकका चनलक घाइते भएका थिए । 

प्रसाईलाई एकजना महिलाको उजुरीका आधारमा नेपाल प्रहरीको साइबर अपराध नियन्त्रण ब्युरोले पक्राउ गरेर अनुसन्धान अघि बढाएको छ ।