बिर्तामोड । कमल गाउँपालिका-३ केरखामा हिजो साँझ भएको दुर्घटना पछि भएको आन्दोलनमा १० प्रहरी र २ जना यात्रु घाइते भएका छन् ।

IMG-20241024-WA0007 1

घाइते हुनेमा नेपाल प्रहरीका प्रहरी सहायक निरिक्षक शिवशक्ती राई, सहायक हवल्दार नविन गडतौला, सुमित्रा कार्की, विजय बिश्वकर्मा र प्रहरी जवान सुजन विक रहेका छन् । 

यसैगरी सशस्त्र प्रहरी बल तर्फ सशस्त्र प्रहरी हवल्दार रमेश खत्री, सशस्त्र प्रहरी जवान उपेन्द्र यादव, प्रकाश चौहान, महेश यादव र कृष्ण भुजेल घाइते भएका छन् । घाइते मध्ये सशस्त्र प्रहरी बलका हवल्दार खत्रीको टाउकोमा चार टाँका लगाईएको छ । 

IMG-20241024-WA0016

यस्तै झडपका समयमा सोही स्थानबाट यात्रा गरिरहेका बुद्वशान्ति गाउँपालिका-६ का नवराज गौतम र सोही मोटरसाइकलमा पछाडि बसेकी उनकी श्रीमती कविता घिमिरे पनि घाइते भएका छन् ।

झडपका क्रममा पुर्व पश्चिम राजमार्गमा रहेको केर्खा ट्राफिक बिट र नेपाल प्रहरी बिट जलाउँदा पुर्ण रुपमा क्षति भएको छ । यस्तै प्रहरी चौकी केर्खामा रहेको सिसि क्यामेराको ६४ इन्चको २ थान मनिटर पुर्ण रुपमा फुटेको छ । 

प्रहरी चौकी केर्खाको कार्यालय भवनको झ्यालको शिशा १६ वटा पुर्ण रुपमा फुटेको, कार्यालय कक्षको टेवल शिशा थान १, गेटमा भएको प्रहरी चौकी केर्खा लेखिएको डिजिटल बोर्ड थान १, कार्यालय कम्पाउण्डमा राखिएको कमल गाउपालिकाको दमकलको अगाडीको सिसा, कार्यालय अगाडी राजमार्ग सुरक्षामा राखिएको सिसि क्यामेरा २ थान फुटेको छ । आन्दोलनकारीले राईले बोकेको  डिएसएलआर क्यामेरा समेत उक्त भिडले तानेर तोडफोड गरेको प्रहरीले जनाएको छ ।

आन्दोलनकारीले ठक्कर दिने प्रदेश १-०१-००१ ख ४३३१ नम्बरको बसको अगाडीको सिसा फुटाएको, दायाँ  र बायाँ पट्टीको सिसामा ढुङगा प्रहार गरेर फुटाएका छन् । यसैगरी झडपको समयमा भिडमा फसेको  मे १ ख २७४४ नम्बरको न्यु सुर्योदय यातायातको बसको दायाँ र बायाँ पट्टीको  झ्यालको २० वटा सिसा फुटेको छ । प्रदेश १-०१-००१ ख ४०३७ नम्बरको अर्को बसको बायाँ साइडको पछाडिको झ्यालको २ वटा सिसाहरु फुटेको प्रहरीको प्रतिवेदनमा उल्लेख छ ।

आन्दोलन साम्य बनाउन नेपाल प्रहरीले १५ र सशस्त्र प्रहरीले १४ सेल अश्रुग्यास प्रहार गरेको थियोे । प्रहरीले ठक्कर दिने बस र त्यसका चालक शिवसताक्षी-१ का विशाल ठटाललाई नियन्त्रणमा लिएको जनाएको छ ।