झापा । सुनसरीको बरहाक्षेत्र नगरपालिका-१ स्थित औलिया बाबाको मन्दिरमा बाल विवाह गरिरहेको समयमा तीनजना चिनियाँ नागरिकसहित ८ जना पक्राउ परेका छन् ।
विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सुनसरीको टोलीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा चिनको हुबेई बस्ने लि टेङ, हु हेजी, जिङछी बस्ने डोङ सिहाओ रहेका छन् ।
यसैगरी धनकुटाको छथर बस्ने लोकबहादुर परियार, उदयपुरको बेलकाका दिपक दर्जी, विक्रम राई, स्याङजाको पुतलीबजारका सितल गुरुङ, काभ्रेपलान्चोकको रोशीकी रोशनी माया गुरुङ रहेका छन् ।
उनीहरुले धनकुटाको छथर जोरपाटी गाउपालिका-२ बस्ने लोक बहादर परियारको छोरीको चिनियाँ नागरिक लि टेङसँग बिवाह गरिरहेको अवस्थामा प्रहरीले फेला पारेको थियो ।
कानुन अनुसार उमेर नपुगेकी बालिकाको विवाह गरिरहेको अवस्थामा फेला परेका उनीहरूलाई जिल्ला प्रहरी कार्यालय सुनसरीमा ल्याएर म्याद थप गरि अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।