भद्रपुर । झापाकाे भद्रपुर नगरपालिका-९ शान्तिचोकमा आज बिहान भएकाे आगलागीमा एउटा घर जलेर नष्ट भएकाे छ । स्थानीय जनन्नाथ ढकालकाे घरमा भएकाे आगलागीबाट छिमेकी गणेश ढकालकाे घरमा समेत क्षति पुगेकाे प्रहरीले जनाएकाे छ । 

बिहान ५ बजे  सुरु भएकाे आगलागीमा परेर घर पुर्ण रुपमा जलेर नष्ट  भएकाे छ । घर भित्र रहेको अन्नपात, लत्ताकपडा, भाँडावर्तन लगायत सम्पुर्ण सामान,  १ वटा बाख्रा , १ वटा गाईको बाच्छी र ३० वटा कुखुरा जलेर नष्ट भएकाे प्रहरीले जनाएकाे छ । गोठमा खाेले पकाउन बालिएको आगोको झिल्काबाट आगलागी भएकाे अनुमान प्रहरीले गरेकाे छ । 

डेढ घण्टापछि नियन्त्रणमा  आगलागीबाट ५ लाख १९ हजार बराबरकाे क्षति भएकाे प्रहरीले जनाएकाे छ । आगलागीबाट छिमेकी गणेश ढकालको १ तल्ले पक्कि घरको झ्यालको ६ वटा सिसा फुटेको र मिटरवक्स जलेर नष्ट हुँदा १८ हजार रुपै‌याँ बराबरकाे क्षति भएकाे छ ।  प्रहरी, स्थानीयवासी र बिर्तामाेड तथा भद्रपुरकाे दमकलले आगलागी नियन्त्रणमा लिएकाे थियाे ।