बिर्तामोड । झापाको अर्जुनधारा नगरपालिका-२ को शान्ति सामुदायिक वनका अध्यक्षको संलग्नतामा गैरकानुनी रुपमा रुख कटान हुने गरेको खुलेको छ ।

अध्यक्ष खगेन्द्र कोईरालाको संलग्नतामा कटान आदेश नलिई जथाभावी सखुवाको रुख कटान गर्ने गरेको खसलेको हो । 

जिल्ला बन कार्यालय र प्रहरीले मंगलबार कोईरालाक‍ो संलग्नतामा काटिएको १ सय ३ क्यु फिट काठ बरामद गरेपछि वन तस्करीमा अध्यक्ष कोईरालाको मिलेमतो खुलेको हो । 

आदेश बिना सखुवाको रुख कटान गरी गोलीया बनाई लोड गर्दै गरेको भन्ने सुचनाको आधारमा अस्थाई प्रहरी चौकी खुदुनाबारी र वन कर्मचारीको टोलीले सो स्थानबाट १०३ क्यु.फिट काठ लोड भएको अवस्थामा मे १ त ६११ नम्बरको ट्याक्टर फेला पारेको थियो ।

टोलीले ट्याक्टर समेत नियन्त्रणमा लिएर आवश्यक कारवाहीको लागी सव डिभिजन वन कार्यालय सुरुङ्गामा बुझाइएको छ । ट्याक्टर चालक र अध्यक्ष कोईरालासहित काठ कटानमा संलग्न अरु फरार रहेकोले खोजतलास कार्य जारी रहेको झापाका प्रहरी प्रवक्ता खगेन्द्र खड्काले जानकारी दिए ।