बिर्तामाेड । ईटहरीको मुख्यचोकमा रहेको व्यापारिक भवन सेन्ट्रल प्लाजामा लागेको आगो ५ घण्टापछि नियन्त्रणमा आएको छ।
नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको टोलीले आगो नियन्त्रणमा लिएको कोशी प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक भीम दाहाल जनाकारी दिए।
सेन्ट्रल प्लाजाको छैटौं तलाको क्युएफएक्स सिनेमा हलबाट विद्युत् सट भएर बुधबार बिहान ९:३० बजेदेखि आगलागी सुरु भएको थियाे। मोरङ र सुनसरीका १२ वटा बारुणयन्त्रको सहयोगमा आगो नियन्त्रणमा आएकाे हाे ।
आगलागीबाट सिनेमा हल र प्लाजाको बरन्डा होटलमा क्षति पुग्दा कराेडाैं रुपैयाँको नाेक्सान भएको छ। आगलागीमा फसेका ८ पुरुष र ३ जना महिला गरी ११ जनालाई उद्धार गरिएकाे छ। जसमा एकजना बंगलादेशी नागरिक समेत रहेका छन्।
भवनमा बारुणयन्त्रबाट पानी फाल्न कठिनाइ भएपछि विराटनगरबाट क्रेन झिकाएर सुरक्षाकर्मीहरूले आगो नियन्त्रणमा लिएका थिए। भवनको विभिन्न तलामा सर्वसाधारण फसेको जानकारी पाए लगत्तै गृह मन्त्रालयले उद्धारका लागि नेपाली सेनाको हेलिकोप्टर पठाएको थियो । हेलिकोप्टरद्वारा भवनमा फसेकाहरुको उद्धार गरेको थियो।



















