झापा । गर्भवती श्रीमतीलाई हत्या गरी डोजरले पुरेको १५ दिनपछि श्रीमान पक्राउ परेका छन् । इलामको फाकफोकथुम गाउँपालिका-३ की अन्दाजी २४ वर्षकी विमला कट्टेल फागुन २९ गते रातीदेखि हराएकी थिइन् । परिवारले विमलाको खोजी गर्न हारगुहार समेत गर्दै आएका थिए ।
वैदेशिक रोजगारीका लागि प्रक्रिया गर्न काठमाण्डौं बस्छु भन्दै आएका श्रीमान उमेश गिरी इलाममै भेटिएपछि प्रहरीले पक्राउ गरी अनुसन्धान गर्दा उनले आफूले हत्या गरी डोजरले खाडल खनेर पुरेको बताएका थिए । उनको बयानपछि प्रहरीले हिजो बिहिबार राती नै फाकफोकथुम गाउँपालिका-२ धार्ने खोपको बाटोमा पुरिएको अवस्थामा शव निकालेको फाकफोकथुम गाउँपालिका-२ का अध्यक्ष याम पौडेलले बताए ।
विमलालाई डाक्टरले चैत १८ गते बच्चा जन्मिने समय दिएका थिए । विमलाकी सासू कुमारी गिरीले फागुन २३ गते बिर्तामोडको बजरङ्ग मेडिकलमा जाँच गराएर लगेकी थिइन् । सोही बेला डाक्टरले १८ गते डेलिभरीको डेट दिएको परिवारले बताएका छन् ।
गिरी भने काठमाण्डौंमा बस्छु भने पनि श्रीमतिको सम्पर्कमा नआई सोही पालिकामा जेसिबी चलाउँदै आएका थिए । बाटो खनेकै ठाउँमा आफैंले चलाउने जेसिबी प्रयोग गरी श्रीमतीको हत्यापछि पुरेको बताएपछि प्रहरीले सो स्थानमा पुगेर खनतलास गर्दा ४ फिट मुनी गाडेको अवस्थामा शव भेटिएको हो ।
फागुन २९ गते राती घरबाट श्रीमतीलाई बाहिर ल्याएर शव पुरिए नजिकै पुगेपछि कन्चटमा हिर्काएको र भुईँमा लडेर छट्पटाउन थालेपछि घाँटी थिचेर हत्या गरेको गिरीको भनाई उदृत गर्दै वडाध्यक्ष पौडेलले बताए । हत्या गरेर जेसिबीले पुरेपछि श्रीमतीको फोनबाट आफैले म इटहरीको एक जनासँग विवाह गरेर भारत गइसकेकाले नखोज्नु भन्दै घरका अन्य सदस्यहरुलाई गिरीले नै म्यासेज गरेका थिए ।