अर्जुनधारा । झापाको अर्जुनधारा नगरपालिकामा प्रत्येक सडकको दुईतर्फ खानेपानी पुग्ने भएको छ । आगामी २०८३ सालको अन्त्यसम्ममा अर्जुनधारामा भएका सबै सडकको दायाँबायाँ खानेपानी उपलब्ध हुने भएको हो ।

received_9514644151985736

शनिश्चरे–अर्जुनधारा खानेपानी तथा सरसफाई समितिको सक्रियतामा महत्वकांछी यो योजनाको काम धमाधम भईरहेको अध्यक्ष किरण शिवाकोटीले जानकारी दिए । उनले योजना सम्पन्न भएपछि सडक भत्काएर पानीको पाईप लानुपर्ने बाध्यताको अन्त्य हुने दावी पनि गरेका छन् । 

संघीय सरकारको १८ करोडको बजेटमा बृहत खानेपानी आयाेजनाको ठेक्का लागेर पाईप बिछ्याउने कार्य भइरहेको हो । यो सँगै १ थान डिप बोरिङ, एउटा भवन, १२ स्थानमा फायर हाइड्रयाण्ड, ट्रिटमेन्ट प्लाण्ट १ थान, बिद्युत ट्रान्सफरमर १ थान, जेनेरेटर १ थान थप गर्ने योजनाको ठेक्का लागेको हो । 

खासगरी फायर हाइड्रयाण्ड जडानपछि आगलागी भएको अवस्थामा त्यसलाई नियन्त्रणमा लिन सहज हुने छ । बारुणयन्त्र आवत जावत गर्न नसक्ने स्थानमा यो प्रविधि जडान गरिने अध्यक्ष शिवाकोटीले जानकारी दिए । उनले शनिश्चरे–अर्जुनधारा खानेपानी तथा सरसफाई समितिका लागि यो गौरबको योजना भएको पनि बताए । 

समितिले धारा जडान शुल्क र न्युनतम महसुलमा पनि कटौती गरेको जनाएको छ ।  आगामी बैशाखदेखि जडान शुल्कमा तीन हजार घटाएर १० हजार र न्युनतम महसुलमा २० रुपैयाँ घटाएर १३० रुपैंयाँ कायम गरिएको समितिका सचिव राकेश ढकालले जानकारी दिए । उनले जेष्ठ नागरिक संस्था, बिपन्न बर्ग, अपाङग तथा अशक्त व्यक्तिलाई धारा जडानमा २५ प्रतिशत शुल्क छुट दिने निर्णय गरिएको जानकारी दिए । आर्थिक अवस्था कमजोर भएका उपभोक्ताका लागि जडान शुल्क छुट दिएर बाँकी रहेको रकम पनि किस्तामा उपलब्ध गराउने सुविधा प्रदान गरिएको उनले बताए । 

समितिले हाल सञ्चालनमा रहेका दुईवटा ट्याङकीमा अटोमेशन प्रविधि जडान गरेको जनाएको छ । जसका कारण पानीको अवस्थासहजै थाहा पाइने बताइएको छ । 

समितिले शनिश्चरे बहुमुखी क्याम्पसमा पानीको महसुल छुट गरेको छ । यस्तै सशस्त्र बेस क्याम्प, अपाङग बाल शिक्षा सरोकार केन्द्र कप्तानबाडी लगायतका स्थानमा निशुल्क धारा जडान कार्य सम्पन्न भएको बताइएको छ । 

आगामी दिनमा अर्काे एउटा ओभरहेड ट्याङकी थप गर्ने योजना रहेको समितिका सदस्य सरु बुढाथोकीले जानकारी दिईन् । त्यसका लागि प्रदेश र संघमा बजेट माग गरिएको उनले बताइन् । सो आयोजना सम्पन्न भएपछि अर्नुनधारा नगरपालिकाका ५ देखि ११ नम्बर वडासम्म २४ सै घण्टा खानेपानीको सुविधा उपलब्ध गराउन सकिने बताइएको छ ।