बिर्तामाेड । अर्जुनधारा नगरपालिका-१ काे हलुवागढ सामुदायिक वनभित्र महिलाको सडेको शव फेला परेको छ ।
हिजो दिउँसो १२ बजेतिर घाँस काट्न गएका स्थानीयले हलुवागढ सामुदायिक वनभित्रकाे आँपखोल्सी भन्ने स्थानमा कपाल र हाडखोर मात्र भएको महिलाको सडिसकेको शव फेला पारेका थिए ।
उनीहरुले प्रहरी चौकी शनिश्चरेमा जानकारी गराएपछि प्रहरी टोली पुगेको थियो । मृतक इलाम रोङ गाउँपालिका-२ बर्फल्याङ बस्ने ६२ वर्षीया सीतादेवी खड्का भएको इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी प्रकाश विष्टले बताए । मानसिक अवस्था ठीक नभएकी ती वृद्धा गत माघ २८ गतेदेखि घरबाट हराएकी थिइन् ।
यसअघि पनि उनी तीन–चारपटक हराएकी थिइन् । ती वृद्धा हराएको भनेर परिवारले प्रहरीमा निवेदन दिएका थिए । कपडाको आधारमा पहिचान गरी मृतकका छोरीले शव बुझेर लिएर गएको डीएसपी विष्टले जानकारी दिएका छन् ।