झापा । भोजपुरको भोजपुर नगरपालिका–५ ट्याक्टर दुर्घटना हुदा दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा भोजपुर–५ का वडा सदस्य  निरप्रसाद फुयाँल र सोही ठाउँका भक्तबहादुर थापा रहेका छन् । 

बोखिमबाट गोबर मल लिएर जाँदै गरेको प्रदेश १–०२–००३ त ११२४ नम्बरको ट्रयाक्टर वडा नं –३ सेतीबगरमा गएराति दुर्घटना भएको थियो ।

राति १० बजे मध्यपहाडी लोकमार्गमा बोखिमबाट गोबर मल लोड गरी छिनामखुतर्फ जाँदै गरेको ट्रयाक्टरको अचानक ब्रेक फेल भई सडकबाट अन्दाजी ४० मिटर तल खसेर दुर्घटना भएको हो ।

दुर्घटनामा चालक सुनसरी धरान ५ बस्ने बिशाल बोहोरा र संखुवासभा सभापोखरी–३ बस्ने दिलबहादुर श्रेष्ठ घाइते भएका छन् । दुबै घाइतेलाई उपचारको लागि जिल्ला अस्पताल भोजपुर पठाइएको छ । त्यस्तै मृतकहरुको शवलाई कानुनी प्रक्रिया पुरा गरी पोस्टमार्टमको लागि जिल्ला अस्पताल भोजपुर पठाइएको प्रहरीले जनाएको छ ।