बिर्तामोड । सशस्त्र प्रहरीको शनिश्चरे बेस क्याम्पले गैरकानुनी रुपमा नदीजन्य सामग्री उत्खनन गर्दै गरेको अवस्थामा ७ वटा ट्याक्टर नियन्त्रणमा लिएको छ । 

अर्जुनधाराबाट नदीजन्य सामग्रीको ब्यापक उत्खनन भइरहेको भन्ने सूचनाका आधारमा सशस्त्रले ट्याक्टर नियन्त्रणमा लिएको हो । उत्खननमा प्रतिबन्ध लगाएको स्थानमा नदीजन्य सामग्री लोड गरिरहेको अवस्थामा ट्याक्टर नियन्त्रणमा लिइएको जनाइएको छ । 

सशस्त्रले प्र. १–०१–००१ त ९४६६, मे १ त ४३४२, प्र. १–०१–००१ त ८९७९, प्र. १–०१–००१ त ९४६६, प्र. २–०१–००१ त २३९५, प्र. १–०१–००१ त ८२३९ र प्र. १–०१–००१ त ८२३० नम्बरको ट्याक्टरलाई अवैध उत्खनन गर्दै गर्दा नियन्त्रणमा लिएको हो । 

अर्जुनधाराबाट नदीजन्य सामग्रीको अवैध उत्खननमा बृद्धि भएपछि प्रमुख जिल्ला अधिकारीको निर्देशनमा त्यसलाई नियन्त्रणका लागि सशस्त्र प्रहरीले अग्रसरता देखाएको छ । गत शुक्रबार टाङटिङ खोलामा अवैध उत्खनन गर्दै गर्दा दुईवटा स्काभेटर नियन्त्रणमा लिइएको थियो । झापाका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अधिकारीको नेतृत्वको टिमले स्काभेटर नियन्त्रणमा लिएको हो ।