बिर्तामाेड । नक्कली नेपाली रुपैंयाँसहित पक्राउ परेका तेह्रथुमका गणेश भारतीकाे डेराबाट ठुलाे परिमाणमा नक्कली रुपैंयाँ बरामद भएकाे छ । गत शुक्रबार काँकरभिट्टा बजार एरियामा रहेको नेपाल बैंक अगाडिकाे सडकमा शंकास्पद अवस्थामा हिडडुल गरिरहेको अवस्थामा तेह्रथुमकाे फेदाप गाउँपालिका-२ ओयाक्जुङ, नेलई घर भएका भारतीलाई प्रहरीले पक्राउ गरेकाे थियाे । 

उनकाे साथबाट नेपाली नक्कली रुपैंयाँ १ लाख बरामद गरेकाे प्रहरीले अदालतबाट म्याद थप गरेर अनुसंधान गरिरहेकाे थियाे । अनुसंधानका क्रममा   कन्काई-८ लक्ष्मीपूरमा रहेकाे उनकाे घर काेठाबाट थप ६ लाख ३० हजार ६८० रुपै‌याँ बरामद गरेकाे जनाएकाे छ । 

प्रहरीले अनुस‌ंधानकाे क्रममा  १ हजार दरकाे नेपाली नक्कली रुपैंयाँ ४७० थान, ५०० को नेपाली दरको नेपाली नक्कली रुपैंयाँ २८२ थान, १०० को नेपाली दरको नक्कली रुपैंयाँ  १९० थान, ५० को नेपाली दरको नक्कली रुपैंयाँ १२ थान र २० को नेपाली दरको नक्कली रुपैंयाँ ४ थान बरामद गरेकाे छ । 

यसैगरी प्रिन्टीङ मेसिन १ थान, मोवाईल ३ थान, कैची १ थान, नोट बनाउन प्रयोग भएको कागज कपी २ थान र नोट बनाउन प्रयोग गरेको बिभिन्न प्रकारको रंगको खाली वट्टा ४ थान बरामद भएकाे जिल्ला प्रहरी कार्यालय झापाले जनाएकाे छ । प्रहरीले उनले डेरा काेठामा नक्कली रुपै‌याँ छाप्ने उद्याेग नै चलाएकाे पाइएकाे जनाएकाे छ ।