बिर्तामाेड । जेनजी आन्दोलनका कारण बन्द रहेका जिल्लाका सरकारी कार्यालय आजदेखि सञ्चालनमा आउने भएका छन् । प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अधिकारीले आगजनीमा परेका पालिका र वडा कार्यालयबाहेक अन्य सरकारी कार्यालय सञ्चालनमा आउने बताए ।
'आन्दोलनका क्रममा जलेर ध्वस्त भएका नगरपालिका, गाउँपालिका र वडा कार्यालय सञ्चालनमा आउन तत्काल सम्भव छैन”, उनले भने, “बाँकी कार्यालय खोलेर आजैदेखि सेवा सञ्चालन हुन्छ ।'
यही भदौ २३ गते जेनजी आन्दोलन सुरु भएयता जिल्लाको जनजीवन तनावग्रस्त थियो । जिल्लाको स्थिति सामान्य अवस्थामा फर्किएको प्रजिअ अधिकारीले बताए । जिल्लामा आज बिहानैदेखि सार्वजनिक तथा निजी यातायातका साधन निर्वाध रूपमा सञ्चालनमा आएका छन् । राजधानी, पोखरा, महेन्द्रनगर, वीरगञ्जलगायत लामो दूरीमा सञ्चालन हुने बस पनि आजदेखि चल्ने भएका छन् ।
जिल्लामा जेनजी आन्दोलनका क्रममा तीन जनाको मृत्यु भएको छ । अन्य घाइतेको विर्तामोडस्थित बीएण्डसी हस्पिटलमा उपचार भइरहेको छ । जेनजी आन्दोलन सुरु भएको भोलिपल्टदेखि सुरु भएको निषेधाज्ञा शनिबारदेखि खुकुलो पारिएको थियो । जिल्लाका बिर्तामोड, काँकडभिट्टा, दमक, भद्रपुर, सुरुङ्गालगायतका सहरमा बजार खुल्न थालिसकेको छ ।
बिस्थापित भएका प्रहरी कार्यालयहरु पुन स्थापित हुन सकेकाे छैन । जसका कारण व्यवसायीले ढुक्क भएर पसल सञ्चालन गर्ने वाताबरण बन्न नसकेकाे हाे । उनीहरुले चाँडाेभन्दा चाँडाे प्रहरी कार्यालय पुनस्थापित गर्न माग पनि गरेका छन् ।



















