बिर्तामोड । झापा जिल्ला अदालतमा दसैँ बिदामा बन्दीप्रत्यक्षीकरणको रिट निवेदनमा सुनुवाइ हुने भएको छ । बिहान ११:०० बजेदेखि अपराह्न ३:०० बजेसम्म अदालत खुला रहने जनाइएको छ ।

दशैं अवधिमा घटस्थापना, विजयादशमी, कोजाग्रत पूर्णिमा र शनिबारको दिनबाहेक अन्य दिनहरूमा बन्दीप्रत्यक्षीकरणको रिट निवेदनमा सुनुवाइ हुने अदालत प्रशासनले जनाएको छ ।

अदालतका सेस्तेदार डिल्लीराम प्रसाइले हस्ताक्षर गरेको  सूचनामा भनिएको छ, ‘न्याय प्रशासन ऐन, २०७३ को दफा २६ बमोजिम उक्त अवधिमा पर्ने घटस्थापना, विजयादशमी, कोजाग्रत पूर्णिमा र शनिबारको दिनबाहेक अन्य दिनहरूमा बन्दीप्रत्यक्षीकरणको रिट निवेदन लिई सुनुवाइ गर्न बिहान ११:०० बजेदेखि अपराह्न ३:०० बजेसम्म अदालत खुला रहने हुँदा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।’

अन्य सरकारी कार्यालय दशैका अवसरमा सामान्यतयः ६ दिन दशै विदा दिने गरे तापनि देशभरका अदालतहरु भने घटस्थापनाकाे दिनदेखी कोजाग्रत पूर्णिमाको दिनसम्म १५ दिन सार्वजनिक बिदा दिने गरिएको छ।