बिर्तामाेड । झापाकाे सुरुङ्गामा भएकाे सवारी दुर्घटनामा दुईजनाकाे मृत्यु भएकाे छ । घटनामा अरु ७ जना घाइते भएका छन् । घाइतेमध्ये तीनजनाकाे अवस्था गम्भीर रहेकाे प्रहरीले जनाएकाे छ । 

आज साढे ९ बजेको समयमा कनकाई नगरपालिका वडा नं. ३ नया बस्तीस्थित पुर्व पश्चिम लोकमार्गमा बिर्तामोडबाट माईधार तर्फ जाँदै गरेको मे १ च ४५१५ न. को पिकअप गाडी र माईधारबाट बिर्तामोड तर्फ आउँदै गरेको ना ५ ख २१४९ न. को बस एक आपसमा ठक्कर खाएर दुर्घटना भएकाे थियाे । 

घटनामा भद्रपुर नगरपालिका बस्ने आफुद राजवंशीको डेढ बर्षका छाेरा आरुती राजवंशीकाे मृत्यु भएकाे छ । उनलाई अस्पताल पुर्याउनासाथ डाक्टरले मृत घाेषणा गरेका थिए । यस्तै दुर्घटनामा परेकी सुस्मा राजवंशीकाे पनि मृत्यु भएकाे छ । उनकाे उपचारकाे क्रममा अहिले साढे ११ बजे मृत्यु भएकाे प्रहरीले जनाएकाे छ । दाहिने हात र खुट्टा भाचिएको, टाउकोमा चोट लागेर गम्भीर अवस्थामा उनलाई उपचारका लागि अस्पताल भर्ना गरिएकाे थियाे । मृतक आमा छाेरा हुन् । 

घटनामा भद्रपुरकै आफुद राजवंशीकाे  टाउकोमा चोट, दाहिने हात र दाहिने खुट्टा भाचिएको अवस्था गम्भीर रहेका छन् । यसैगरी, भद्रपुर नगरपालिका-४ बस्ने बर्ष ४५ की पाथल राजवंशीकाे दाहिने खुट्टा भाचिएको, मुखमा चोट लागेकाे र अवस्था गम्भीर रहेकाे प्रहरीले जनाएकाे छ । 

दुर्घटनामा मेचीनगर- १५ बस्ने फुलमुनी मुर्मु जमुना राजवंशी, अनिष राजवंशी, भद्रपुर नगरपालिका-४ बस्ने पुस्पलाल राजवंशी, उनका आशिष राजवंशी, भद्रपुर ९ बस्ने टेमुना राजवंशी,  शिवसताक्षी नपा-१० बस्ने अन्जली राई,  बिर्तामोड-३ बस्ने अभिषेक राजवंशी र मेचीनगर-१५ बस्ने कृतिका राजवंशी घाइते भएका छन् । उनीहरुकाे बिर्तामाेडका बिभिन्न अस्पतालमा उपचार भइरहेकाे छ । घाइते सबै पीकअपमा सवार व्यक्ति हुन् । 

प्रहरीले पिकअप चालक बिर्तामोड नगरपालिका वडा नं. ६ बस्ने जाकिर हुसेन र दुवै सवारी साधन प्रहरीको नियन्त्रणमा लिएकाे जनाएकाे छ । बस चालक तत्काल फरार रहेकोले खोजीकार्य जारी रहेको छ ।