बिर्तामोड । बिर्तामोड नगरपालिका-५ सिटी सेन्टर अगाडि ठ्रक र मोटरसाइकल ठक्कर खाँदा श्रीमानको मृत्यु भएको छ भने श्रीमती गम्भीर घाइते भएकी छन् ।
हिजो साँझ करिब ८ बजेको समयमा बिर्तामोड नगरपालिका-५ सिटि सेन्टर स्थित पुर्व पश्चिम लोकमार्गमा दुर्घटना भएको थियो ।
प्रहरीका अनुसार बिर्तामोडबाट बुट्टाबारी तर्फ जाँदै गरेको ना८ख २२९७ न. को ट्रक र बिपरित दिशाबाट आउँदै गरेको नम्बर नखुलेको मोटरसाइकल एक आपसमा ठक्कर खाएको हो ।
दुर्घटनामा बाह्रदशी-४ बस्ने बर्ष ३२ को खगेन्द्र मगर र सोहि मोटरसाइकलमा पछाडि सवार उनको श्रीमती बर्ष २५ की सुकमाया तामाङ गम्भीर घाइते भएका थिए ।
दुवै जनाको अस्पतालमा उपचार भई रहेकोमा राती ९ बजेको समयमा मगरको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। सुकमायाको गम्भीर अवस्थामा उपचार भईरहेको छ ।
दुर्घटना पश्चात मोटरसाइकलमा आफै आगलागी भई पुर्ण रुपमा जलेको हुँदा तत्काल मोटरसाइकलको विवरण प्राप्त हुन नसकेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
प्रहरी र बिर्तामोड नगरपालिकाको दमकलले उक्त आगलागी नियन्त्रणमा लिएको थियो । ट्रक र मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको छ । ट्रक चालक तत्काल फरार भएकाले खोजतलाश भइरहेको जनाइएको छ ।



















