बिर्तामोड । यश बर्षको पूर्ण टुङ्ग आदर्श नागरिक सम्मानबाट दार्जिलिङका साहित्यकार दान खालिङ मरणोपरान्त सम्मानित हुने भएका छन् ।

भारतको दार्जिलिङ घर भएका खालिङलाई बिर्तामोडमा रहेको जय नेपाल प्रतिभा प्रोत्साहन प्रतिष्ठानले सम्मान गर्ने भएको हो । शनिबार एक समारोहको आयोजना गरेर खालिङलाई सम्मान प्रदान गरिने भएको छ ।

भारतीय नागरिक खालिङले नेपालमा शिक्षा, साहित्य तथा राजनीतिक चेतना विस्तारका लागि गरेको योगदानको मुल्याङकन गर्दै मरणोपरान्त सम्मान गर्ने निर्णय गरिएको प्रतिष्ठानका अध्यक्ष गोपाल कुुमार बस्नेतले जानकारी दिए ।

आदर्श नागरिक सम्मानसँगै १ लाख ११ हजार १११ रुपैया पुरस्कार प्रदान गरिने उनले बताए । यसअघि सो पुरस्कारबाट पहिलो पटक ख्यातिप्राप्त कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य तथा दोस्रो पटक पञ्चायत बिरोधी आन्दोलनका योद्वा याम भण्डारी र दिव्य भुर्तेल पुरस्कृत भइसकेका छन् ।

प्रतिष्ठानको पुरस्कारसँँगै बिर्तामोडका अरु शैक्षिक प्रतिष्ठानले पनि नगद पुरस्कार प्रदान गर्ने तयारी रहेको छ । बस्नेतका अनुसार २ लाख ५० हजार भन्दा बढि रकम खालिङको स्मृतिमा समर्पण गर्ने तयारी भइसकेको छ ।

नेेपालमा शिक्षा, साहित्य तथा राजनीतिक चेेतना विस्तारका लागि अहोरात्र सक्रिय खालिङलाई सरकारले नेपाल प्रज्ञा प्रतिष्ठानको सदस्य बनाएको थियो । उनको २०७३ भदौ २१ गते ८९ बर्षको उमेरमा भारतको सिलिगुडीमा निधन भएको थियो ।