अर्जुनधारा । शनिश्चरे फुटबल क्लबले आयोजना गरेको जिल्ला स्तरीय यु-१८ फुटबल प्रतियोगितामा ५ लाख रुपैया बचत भएको छ ।

माघ ११ बाट सुरु भएर माघ १९ सम्पन्न भएको प्रतियोगितामा जिल्लाका ९ वटा पालिकाका टिमको सहभागिता रहेको थियो । प्रतियोगितामा बुद्वशान्ति गाउपालिकाको टिमले उपाधी हात पारेको थियो ।

प्रतियोगिता संयोजक टेकराज तिलिङले प्रस्तुत गरेको प्रतिवेदनमा प्रतियोगितामा १५ लाख ८२ हजार ३३४ आम्दानी भएको उल्लेख छ । त्यसैगरी, १० लाख ७७ हजार ९१० रुपैयाँ खर्च भएर ५ लाख ४ हजार ३२४ बचत भएको जनाइएको छ।

क्लबले यश बर्ष खेलाडी अक्षयकोषमा १ लाख रुपैया थप गर्ने बताएको छ । यो सँगै कोषमा २ लाख ५५ हजार रुपैया जम्मा भएको तिलिङले जानकारी दिए ।

क्लबले प्रशिक्षक नियुक्त गरेर तीन महिना निशुल्क प्रशिक्षणको व्यवस्था गर्ने जनाएको छ । यसका अतिरिक्त खेल सामग्री खरिद गर्ने, लागूऔषध दुर्व्यसन बिरुद्व सचेतना कार्यक्रममा सहभागी रहने बताएको छ ।

कार्यक्रमका प्रमुख अतिथि अर्जुनधारा नगरपालिकाका प्रमुख बलदेबसिंह गोम्देनले अन्य स्थानीय तहका खेलाडीलाई समेत आकर्षण बढ्ने गरि यहाँका खेलाडीलाई सुविधा उपलब्ध गराउने उद्घोष गरे । उनले झापामा खेलकुद भन्ने वित्तिकै अर्जुनधारा सम्झिने वातावरण निर्माण गर्न नगरपालिका दत्तचित्त रहेको धारणा राखे ।

कार्यक्रममा वडा न ८ का अध्यक्ष कुमार उप्रेती, फुटबल प्रशिक्षक भगिरथ आले, उद्यमी मिलन बस्नेत, नगर खेलकुद विकास समितिका संयोजक सुरेन्द्र धिमाल लगायतको सहभागिता रहेको थियो ।