बिर्तामाेड । झापामा पिकल बल नामकाे खेल भित्रिएकाे छ । अमेरिकाबाट विकास भएकाे याे खेल नेपालकाे काठमाण्डाै, ललितपुर तथा पाेखरामा नियमित सञ्चालनमा आएपनि पूर्वकाे झापामा पहिलाे पहिलाे पटक याे खेल प्रतियाेगिताका रुपमा सञ्चालनमा आएकाे हाे ।
अर्जुनधारा- ६ काे गामास्ता स्पाेर्टस हबमा भएकाे प्रतियाेगिता दुई दिनसम्म सञ्चालमा आएकाे थियाे । मेन्स सिंगल, मेन्स डबल, वुमन्स सिंगल, वुमन्स डबल र मिक्स डबलकाे आधारमा प्रतियाेगिता आयाेजना भएकाे थियाे ।
राउण्ड टेबल नेपाल र गामास्ता स्पाेर्टस हबकाे आयाेजनामा भएकाे प्रतियाेगिताकाे मेन्स डबलमा अन्सुल बंशल र विजय कार्कीकाे जाेडी प्रथम भएकाे छ । प्रतियाेगितामा राेहन कार्की र अनुप लामाकाे जाेडी उपबिजेता बनेकाे छ ।
यस्तै मेन्स सिंगलमा बिनाेम ढकाल प्रथम र अन्सुल बंशल दाेस्राे भए । मिक्स डबलमा अनुयाेग राज ढकाल र सुमिती लामाकाे जाेडी प्रथम तथा ओसिन तामाड र बिनाेम ढकालकाे जाेडी दाेस्राे भए ।
यसैगरी वुमन्स सिंगलमा मनिषा ढकाल बिजेता र सुमिती लामा उपिबजेता भए । वुमन्स डबलमा दिब्या अग्रवाल र मनिषा ढकालकाे जाेडी प्रथम र ओसिन तामाड र सुमिती लामाकाे जाेडी दाेस्राे भएकाे थियाे ।
प्रतियोगतामा कुल ४९ वटा खेलहरु भएका थिए । प्रत्येक प्रतियाेगिता बेष्ट अफ ३ का आधारमा सञ्चालन भएकाे आयाेजक राउण्ड टेबल नेपालका अध्यक्ष बिकास अग्रवालले जानकारी दिए । प्रतियाेगिताकाे बिजेतालाई ट्रफी, मेडल, प्रमाणपत्र तथा नगद पुरस्कारकाे व्यवस्था गरिएकाे थियाे । प्रतियाेगितामा ७० जना खेलाडीकाे सहभागिता रहेकाे प्रतियाेगिताका संयाेजक अन्सुल बंशलले जानकारी दिए ।
राउण्ड टेबल नेपाल शिक्षा र सामुदायिक सेवामा केन्द्रित युवाद्वारा सञ्चालित संस्था हाे । यसले आफ्ना विभिन्न पहलमार्फत देशभर अर्थपूर्ण रुपमा सामाजिक प्रभाव पार्दै आएको छ। यसअन्तर्गत बिर्तामाेड राउण्ड टेबल-२७ ले स्थानीय स्तरमा सक्रिय भूमिका निर्वाह गर्दै विभिन्न प्रभावकारी कार्यक्रम तथा सेवा परियोजनाहरू सञ्चालन गर्दै आएको छ।
के हाे पिकल बल ?
पिकल बल एउटा रमाइलो र सजिलो खेल हो, जसले टेनिस, ब्याडमिन्टन र टेबल टेनिस को मिश्रण जस्तो अनुभव दिन्छ।
याे खेल कस्तो हुन्छ?
याे खेल ब्याडमिन्टन कोर्ट जस्तै सानो कोर्टमा खेलिन्छ । यसकाे नेट टेनिसभन्दा अलिकति होचो हुन्छ । खेलाडीले र्याकेट जस्ताे प्याडल र प्लास्टिकको हलुका छिद्र भएकाे बल प्रयोग गर्छन् । याे खेल एक्लै वा दुई-दुई जनाको टोलीमा पनि खेल्न सकिन्छ
खेलका मुख्य नियमहरू
बल सर्भिस गर्दा तलबाट( अण्डरह्याण्ड सर्भिस) हानिन्छ । सर्भिस गरेपछि बल दुई पटक जमिनमा ठाेकिनु पर्छ । नेट नजिकको क्षेत्रलाई “किचन जाेन” भनिन्छ, त्यहाँ उभिएर सिधै भली हान्न पाइँदैन । अंक केवल सर्भिस गर्ने टिमले मात्र पाउँछ । एक सेट खेल सकिन ११ अंक पाएकाे हुनुपर्छ । बिजेता अंकमा दुईकाे फरक हुनुपर्ने नियम यसमा छ ।
याे खेल किन लोकप्रिय छ?
सिक्न सजिलो भएका कारण याे खेल लाेकप्रिय छ । धेरै दौडधुप नचाहिने । सबै उमेरका खेलाडीले खेल्न सक्ने । छिटो खेल सकिने र साथीहरूसँग रमाइलो गर्न मिल्ने भएका कारण याे खेल लाेकप्रिय हुँदै गएकाे छ ।




















