झापा । इलामको माङसेबुङ गाउँपालिका–६ खुन्द्रुकेमा गोरेटो बाटोबाट लडेर एक वृद्धको मृत्यु भएको छ।

मंगलबार बिहान करिब ०८:२० बजेतिर स्थानीय वर्ष करिब ७३ का ज्ञान बहादुर राई गोरेटो बाटोबाट करिब १०० मिटर तल झरेर मृत अवस्थामा फेला परेका हुन्।

प्रहरी चौकी सागफारा इलामबाट प्रहरी सहायक निरिक्षक सुमन पोखरेलको कमाण्डमा खटिएको दुई सदस्यीय टोली बिहान ०९:१५ बजे घटनास्थलमा पुगेर प्रारम्भिक अनुसन्धान गरेको थियो।

प्रहरीका अनुसार मृतक राई चैत २४ गते गाउँमा आयोजित समूहको बैठक सकेर घर फर्किने क्रममा बेपत्ता भएका थिए। उनी घर नफर्किएपछि आफन्तहरूले खोजतलास गर्ने क्रममा मृत अवस्थामा फेला पारेका हुन्।

हाल घटनास्थल सुरक्षित राखिएको प्रहरीले जनाएको छ। थप अनुसन्धान तथा कानुनी प्रक्रिया अगाडि बढाउन इलामको इप्रका मंगलबारेबाट प्र.नि. सन्तोष कुमार राईको कमाण्डमा प्रहरी टोली खटिएको छ।