बिर्तामोड । अर्जुनधारा नगरपालिका–११ बुट्टाबारीस्थित एक कपास प्रशोधन उद्योगमा आगलागी भएको छ।
आज दिउँसो करिब १२:१५ बजे नुर मोहम्मदले सञ्चालन गर्दै आएको बिर्तामोड कपास प्रशोधन उद्योगमा अचानक विद्युत सर्ट भई आगलागी भएको प्रहरीले जनाएको छ।
आगलागीबाट उद्योगभित्र रहेका सिरक, डस्ना, कपास तथा विभिन्न मेसिनरी औजारहरू जलेर क्षति पुगेको छ।
आगो नियन्त्रणका लागि श्री अरिदमन गण चारआली ब्यारेकबाट उ.से. विजय पाण्डेको कमाण्डमा खटिएको नेपाली सेनाको टोली, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, साथै बिर्तामोड, भद्रपुर, मेचीनगर र शिवसताक्षी नगरपालिकाका दमकलहरू परिचालन गरिएका छन्। स्थानीयवासीसमेत आगो निभाउने प्रयासमा जुटिरहेका छन्।
आगलागी नियन्त्रणको प्रयास जारी रहेको र क्षतिको विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।



















