अर्जुनधारा । अर्जुनधारा नगरपालिकामा गरिएको बजार अनुगमनका क्रममा विभिन्न पसलबाट म्याद गुज्रिएका तथा लेबल नभएका खाद्य सामग्री जफत गरिएको छ।
अनुगमन टोलीले शंकर पान पसल, अर्जुन पान पसल र प्रज्ञान स्टोर्स र गुराँस स्टोर्समा अनुगमन गरेको थियो । अनुगमनका क्रममा प्रज्ञान स्टोर्स र गुराँस स्टोर्सबाट म्याद गुज्रिएको हरियो मटर, साबुदाना, काजु र किसमिस फेला पारी जफत गरेको जनाएको छ। त्यस्तै, लेबल नभएका खाद्य सामग्रीसमेत बरामद गरिएको छ।
त्यसैगरी, गुराँस स्टोर्सबाट म्याद गुज्रिएको १८ प्याकेट ब्रोकन नुडल्स तथा ५ किलो हरियो मटर बरामद गरिएको अनुगमन टोलीले जानकारी दिएको छ।
नगरस्तीय बजार अनुगमन समितिका सदस्य सचिव चुडामणि निरौलाका अनुसार उपभोक्ताको स्वास्थ्यमा असर पर्न सक्ने खाद्य सामग्री नियन्त्रण गर्न नियमित अनुगमनलाई कडाइ गरिएको छ।
प्रमुख खाद्य अधिकृत सुवासचन्द्र वस्तीले म्याद गुज्रिएका तथा मापदण्ड विपरीतका सामग्री बिक्री नगर्न व्यवसायीलाई सचेत गराउँदै यस्ता गतिविधि दोहोरिए कानुनी कारबाही गरिने बताए।
अनुगमन टोलीमा नगर उपप्रमुख खड्गमाया पराजुली, गौरिमाया चिमरिया, सुरक्षाकर्मी, वाणिज्य संघबाट कृष्ण लोहार, प्रल्हाद ढुङगाना लगायतको सहभागिता रहेको थियो । जफत गरिएका सामग्री नष्ट गर्ने प्रक्रिया अघि बढाइएको समेत जनाएको छ।



















