अर्जुनधारा । अर्जुनधारा नगरपालिका–८ शनिश्चरे बजार क्षेत्रमा गरिएको अनुगमनका क्रममा विभिन्न पसल तथा खाद्य व्यवसायमा गुणस्तर, म्याद र सरसफाइ सम्बन्धी समस्या फेला परेका छन्।

Messenger_creation_AABE43D0-DBF5-44DC-97C9-2EEEAE7DCE10

अनुगमनका क्रममा काफ्ले मिष्ठान्न भण्डारमा गुणस्तरहीन तेल प्रयोग गरिएको तथा म्याद गुज्रिएका पेय पदार्थ भेटिएकोले सरसफाइमा सुधार गर्न निर्देशन दिइएको छ। यस्तै, मंगरु मिष्ठान्न भण्डारमा प्रयोग भइरहेको तेलको गुणस्तर सन्तोषजनक पाइए पनि सरसफाइमा सुधार गर्न सुझाव दिइएको छ भने म्याद गुज्रेका खाद्यान्न भने फेला परेनन्।

Messenger_creation_FE7DA0CB-9B55-4218-9FF3-A742A012B362

त्यसैगरी, जय माता पाथीभरा फास्टफुड एण्ड खाजा घरमा लेबल तथा उत्पादन मिति उल्लेख नभएका बेकरी सामग्री भेटिएको छ। अमृता क्याफे एण्ड केक बेकरी दर्ता तथा नवीकरण भएको र सरसफाइमा ध्यान दिएको पाइयो भने स्वरोजगार भवानी सहकारी पसल पनि दर्ता/नवीकरण भएको र म्याद गुज्रेका सामान नभएको पाइएको छ।

अनुगमन टोलीमा बरिष्ठ खाद्य अधिकृत सुवासचन्द्र वस्ती, नगर स्तरीय अनुगमन समितिका सदस्य सचिव चुडामणि निरौला, नेपाल प्रहरी, नगर प्रहरी, सञ्चारकर्मी, जनप्रतिनिधि तथा वाणिज्य संघका अध्यक्ष इन्दिवर खड्का लगायतको सहभागिता रहेको थियो।

अनुगमन टोलीले म्याद गुज्रिएका, लेवल नभएका तथा गुणस्तरहिन सामग्री जफत गरेको छ । अनुगमनका क्रममा हिजो प्रज्ञान स्टोर्स र गुराँस स्टोर्सबाट बरामद गरेको सामग्री जफत गरेर नष्ट गरेको थियो । 

अनुगमन टोलीले सबै व्यवसायीलाई उपभोक्ता संरक्षण सम्बन्धी मापदण्ड पालना गर्न, सरसफाइमा विशेष ध्यान दिन तथा म्याद नाघेका सामग्री बिक्री नगर्न निर्देशन दिएको छ।