झापा । अर्जुनधारा–७ स्थित डाङग्रे बाबा–सेतीदेवी पाथिभरा माता धामको पाँचौँ वार्षिकोत्सवको अवसरमा तीनदिने धार्मिक महोत्सव आयोजना गरिने भएको छ।
महोत्सवको पहिलो दिन कलश यात्रा, उद्घाटन तथा नगर परिक्रमा कार्यक्रम सम्पन्न गरिने आयोजकले जनाएको छ। दोस्रो दिन धामी–झाँक्रीद्वारा विशेष पूजा–अर्चना गरिने कार्यक्रम रहेको छ भने तेस्रो दिन दाता सम्मान, समापन समारोहसँगै भजन–कीर्तन तथा आरती आयोजना गरिनेछ।
धाममा तीनदिन नै निशुल्क स्वास्थ्य शिविर कार्यक्रम आयोजना गरिने भएको छ । जहाँ स्वास्थ्य परिक्षण गर्नका लागि उपस्थित हुन समितिले आह्वान गरेको छ ।
धाममा हाल १५३ जना आजीवन सदस्य रहेका छन्। संस्थाका अध्यक्ष इन्द्रबहादुर मगर, सचिव रोशन नेम्वाङ र उपाध्यक्ष कमला ढकाल पौडेलको नेतृत्वमा कार्यक्रम सञ्चालन हुने छ।
स्थानीय धार्मिक तथा सांस्कृतिक परम्परालाई संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको महोत्सवमा भक्तजनहरूको उल्लेख्य सहभागिता रहने अपेक्षा गरिएको छ ।



















