बिर्तामोड । झापाका विभिन्न स्थानमा परेको चट्याङका कारण एक जना व्यक्ति घाइते भएका छन् भने दुई वटा चौपाया मरेका छन्।

आज दिउँसो करिब १२:३० बजे मेचीनगर नगरपालिका–१ जिर्मले बस्ने ३८ वर्षीय माधव रिसाल आफ्नै घरको मिटर बक्समा पानीसँगै आएको चट्याङ लाग्दा घाइते भएका हुन्।

बउनको टाउको र आँखामा चोट लागेको छ भने अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। घाइते रिसाललाई उपचारका लागि दीप ज्योति आँखा अस्पताल पठाइएको छ। चट्याङका कारण घरको मिटर बक्समा क्षति पुगेको छ। साथै, सोही घरबाट करिब १ सय मिटर टाढा एम.प्र. राईको खोरमा रहेको करिब ३५ हजार रुपैयाँ बराबरको एक माउ सुंगुर समेत मरेको छ।

यसैगरी, आज बिहान करिब ८:०० बजे गौरीगञ्ज गाउँपालिका–२ आपगाछीका ५२ वर्षीय पलानु राजवंशीको गाई चट्याङ लागेर मरेको छ। घरदेखि करिब ५० मिटर पश्चिम–उत्तर दिशामा बिरीलाल राजवंशीको खेतबारीमा बाँधिएको गाईको घटनास्थलमै मृत्यु भएको हो। उक्त गाईको मूल्य करिब ४० हजार रुपैयाँ रहेको जनाइएको छ।