झापा । श्रोत नखुलेको ठूलो परिमाणको नगद रकमसहित एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

आज दिउँसो करिब १४:०० बजे भारतको सुजागंज, सिंघा चन्चला मण्डा बस्ने ३६ वर्षीय मोहिदिल अलि विराटनगरबाट काठमाडौँ जान लागेको अवस्थामा पक्राउ परेका हुन्।

विमानस्थलको सुरक्षा जाँचका क्रममा एक्स–रे मेसिनबाट उनको झोलामा नगद रकम देखिएपछि थप अनुसन्धान गरिएको थियो। सोधपुछका क्रममा उनले उक्त रकमको स्रोत खुलाउन नसकेको प्रहरीले जनाएको छ।

उनको साथबाट रु १५ लाख ९८ हजार नगद बरामद गरिएको छ। बरामद रकमसहित उनलाई आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय मोरङमा राखिएको छ।

प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।