बिर्तामोड । भदौ ११ गते मात्र २५औँ जन्मदिन मनाएका विजय सहनी त्यसको तीन दिनपछि मामा अशोक सहनीसँग सिलिगुडी घुम्न निस्किए । तर, घुमफिरका लागि घरबाट निस्किएको केही घण्टामै भारतमा भएको सडक दुर्घटनाले उनीहरूको जीवन नै खोसिदियो ।

झापाको भद्रपुर नगरपालिका–५, सुन्दरबस्तीका मामा–भान्जाको भारतको पश्चिम बंगालस्थित बतासीमा कारको ठक्करबाट मृत्यु भएको हो ।

मृत्यु हुनेमा २५ वर्षीय विजय सहनी र उनका ३१ वर्षीय मामा अशोक सहनी रहेका छन् ।

घरबाट बिहान करिब ७ बजे मोटरसाइकलमा सिलिगुडीका लागि निस्किएका उनीहरू भारतको बतासी अधिकारी बाइपास रोडअन्तर्गत केलाबारी पुगेका थिए । त्यही क्रममा तीव्र गतिमा आएको कारले उनीहरू सवार मोटरसाइकललाई ठक्कर दिएको थियो ।

दुर्घटनामा विजयको घटनास्थलमै मृत्यु भएको थियो । गम्भीर घाइते अशोकलाई उपचारका लागि अस्पताल लगिएको थियो । तर, उपचारकै क्रममा उनको पनि मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

दुर्घटनापछि कार चालक फरार भएका थिए । भारतीय प्रहरीले उनलाई पक्राउ गरी अदालतमा पेश गरेको जनाइएको छ ।

विजयले भदौ ११ गते मात्र परिवार र आफन्तसँग जन्मदिन मनाएका थिए । जन्मदिनको खुसी सेलाउन नपाउँदै उनी मामा अशोकसँग घुम्न निस्किएका थिए । तर, त्यो यात्रा उनीहरूको जीवनकै अन्तिम यात्रा बन्न पुग्यो ।

मामा–भान्जाको एकैपटक मृत्यु भएपछि भद्रपुर–५ को सुन्दरबस्ती शोकमा डुबेको छ ।