झापा । नेपाल टेलिकम दमकमा कार्यरत एक कर्मचारी आफ्नै घरमा मृत अवस्थामा फेला परेका छन् ।

झापाको दमक नगरपालिका–६, फूलबारी टोल निवासी ५१ वर्षीय भोगेन्द्र खनाल सोमबार आफ्नै घरमा मृत अवस्थामा फेला परेका हुन् ।

घटनाबारे जानकारी पाएपछि इलाका प्रहरी कार्यालय दमकबाट प्रहरी टोली घटनास्थलमा पुगेको थियो । प्रहरीले घटनास्थलको स्थलगत मुचुल्का तयार गरी घटनाबारे आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ ।

इलाका प्रहरी कार्यालय दमकका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) हरिबहादुर बस्नेतले घटनाको आवश्यक अनुसन्धानका लागि प्रहरी टोली परिचालन गरिएको जानकारी दिए।

खनालको मृत्युको कारण भने खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।