बिर्तामोड । लागुऔषध कारोबार गरेको अभियोगमा भदौ २ गते बिर्तामोडबाट पक्राउ परेका भुटानी शरणार्थी शिविर बेलडाँगीका बिशाल राई अस्पतालबाट फरार भएका छन् ।

स्वास्थ्यमा समस्या उत्पन्न भएपछि राईको उपचार गर्न बिर्ता सिटी अस्पतालमा भर्ना गरिएको थियो। उपचारका क्रममा उनी हतकडी खुस्काएर अस्पतालबाट फरार भएको प्रहरीले जनाएको छ । 

१९० मिलि ग्राम ब्राउन सुगरसहित पक्राउ परेका राईलाई  अनुसंधानको लागि इलाका प्रहरी कार्यालय अनारमनीको हिरासतमा राखिएको थियो । मंगलबार बेलुका पेट दुख्ने समस्या उत्पन्न भएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो । उपचारका क्रममा राती १० बजे हतकडी खुस्काएर राई फरार भएका हुन् । 

उनको सुरक्षामा प्रहरी हवल्दार बमबहादुर राई खटिएका थिए । राइले नै थुनुवा फरार भएको जानकारी गराएपछि डिएसपी प्रकाश विष्टको नेतृत्वमा खोजतलास सुरु भएको छ ।