बिर्तामाेड । उपचारका लागि हतकडी लगाएर सँगै लिएर गएको थुनुवा भागेपछि इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी हवल्दार बमबहादुर राईलाई निलम्बनकाे कारवाही गरिएको छ ।
प्रहरी हवल्दार राईले उपचारका लागि बिर्ता सिटी अस्पताल लिएर गएका लागु ओषध मुद्दाका थुनुवा विशाल राई हतकडी फुस्काएर मंगलबार राती दिउँसो फरार भएका थिए ।
इलाका प्रहरी कार्यालय अनारमनी र जिल्ला प्रहरी कार्यालयको टोलीले खोजतलास गर्दासमेत राई अझै भेटिएका छैनन् । मंगलवार दिउँसो ४ बजे पेट दुख्ने बिरामी भई बिर्ता सिटी अस्पतालमा बेड भर्ना भई उपचार भइरहेका दमक नगरपालिका-३ भुटानी शरणार्थी सेक्टर जी थ्री भई हाल न.१ मा डेरा गरी बस्ने २५ वर्षीय विशाल राई हतकडी फुस्काएर फरार भएका हुन् ।
लागूऔषध मुद्दामा पक्राउ परेका राईको सुरक्षामा प्रहरी हवल्दार बमबहादुर राई खटिएका थिए । प्रहरी हवल्दार राईलाई निलम्बन गरी कारबाही शुरु गरिएको इलाका प्रहरी कार्यालय अनारमनीका डीएसपी प्रकाश विष्टले बताए । उनले ती थुनुवा हतकडी फुस्काएर कसरी भागे भनेर अनुसन्धान भइरहेको पनि जानकारी दिए ।
उपचारका लागि सँगै लिएर गएका थुनुवा भागेपछि प्रहरी हवल्दार राईमाथि विभागीय कारबाही शुरु गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी कृष्णकुमार चन्दले बताए । उपचारमा रहेका थुनुवा राईले हात दुख्यो हतकडी खुकुलो बनाइदिनु भनेर भन्दा प्रहरी हवल्दार राईले हतकडी खुकुलो बनाइदिएका थिए । त्यसपछि ती थुनुवा हतकडीबाट हात फुस्काएर भागेको जनाइएको छ ।
भदौ २ गते बिर्तामाेडमा १ ग्राम ४४ मिलिग्राम ब्राउन सुगरसहित राई पक्राउ परेका थिए । इलाका प्रहरी कार्यालय अनारमनीको हिरासतमा राखी ५ दिन म्याद थप गरी उनीमाथि अनुसन्धान भइरहेको थियो ।

















