बिर्तामाेड । चार दिनअघि हतकडी फुस्काई फरार भएका इलाका प्रहरी कार्यालय बिर्तामोडका थुनुवा आज पक्राउ परेका छन् ।

अर्जुनधारा ११ स्थित नयाँ बसपार्कमा रहेको घिसिङ मोटरसाइकल ग्यारेज छेउको चिया पसलमा लुकेर बसेको अवस्थामा उनलाई बिहान ११ बजेतिर पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी कृष्णकुमार चन्दले बताए ।

गत मंगलवार दिउँसो उपचारका लागि बिर्तासिटी अस्पताल लगिएका थुनुवा २५ वर्षीय बिशाल राई हतकडी फुस्काई फरार भएका थिए । दिउँसो ४ बजे पेट दुख्ने बिरामी भई बिर्तामोडस्थित बिर्तासिटी अस्पतालमा बेड भर्ना भई उपचार भइरहेका दमक नगरपालिका वडा न.३ भुटानी शरणार्थी सेक्टर जी थ्री भई हाल न.१ मा डेरा गरी बस्ने राई हतकडी फुस्काई फरार भएपछि खोजी कार्य तीब्र पारिएको थियो । उनको खोजीका लागि जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालयको टोली चार दिनदेखि खटिएको थियो ।