बिर्तामोड । झापाको शिवसताक्षीमा गएराति भाईको हत्या भएको अभियोगमा दाजु पक्राउ परेका छन् । शिवसताक्षी–८ शितल चौकका ४२ वर्षीय रामप्रसाद सिटौलाको हत्या गरेको आरोपमा उनका दाजु नारायण सिटौलालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

घटनापछि अनुसन्धानका लागि मृतकका दाजु नारायण सिटौलालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता कृष्णक्मार चन्दले जानकारी दिए । गएराति करिव ९ बजे घरको पछाडिपट्टि उतानो परेको अबस्थामा रामप्रसादको शव फेला परेको थियो ।

उनको टाउकोमा चोट देखिएको छ । दाउराले प्रहार गरी हत्या गरेको हुनसक्ने आशंका प्रहरीको छ । घटनास्थल वरिपरी दाउरा छरिएको र रगत लतपतिएको थियो । उनलाई सुतेकै ठाउँमा दाउराले हानेको हुनसक्ने बताइएको छ । दुवै दाजुभाइले मादक पदार्थ सेवन गरी झगडा गरेको र नारायणले भाइलाई दाउराको चिर्पटले हत्या गरेको हुनसक्ने आशंका छ । तीनजना दाजुभाइमध्ये मृतक रामप्रसाद माहिला भाई हुन् ।