बिर्तामोड । युवतीलाई छुरा प्रहार गरेर गम्भीर घाइते बनाएर भाग्दै गर्दा स्थानीयकाे कुटपिट पछि घाइते भएका कैलाली जिल्लाकाे गौरीगंगा नगरपालिका-३ बस्ने २० बर्षका अनिल बिककाे गम्भीर अवस्थामा मेची प्रादेशिक अस्पतालमा उपचार भइरहेकाे छ ।
शुक्रबार साँझ साढे ६ बजे महानन्द चाेकमा बिककाे छुरा प्रहारबाट इलामकाे सुर्योदय नगरपालिका-३ फिक्कल घर भई हाल जिल्ला अर्जुनधारा नगरपालिका-५ पाथीभरा टोलमा डेरा गरी बस्ने बर्ष-१९ कि मनिषा लोहार गम्भीर घाइते भएकी थिइन् । छाती, घाँटी तथा काेखामा छुरा प्रहार भएको अवस्थामा अस्पताल पुर्याउने बित्तिकै चिकित्सकले उनलाई मृत घोषित गरेका थिए ।
मेची प्रादेशिक अस्पताल भद्रपुरमा उपचाररत विकको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । ‘उनको अवस्था गम्भीर नै छ’, जिल्ला प्रहरीका कार्यबाहक प्रवक्ता मेहेगी ल्वामु तामाङ्ले भनिन्, ‘अहिलेसम्म घाइतेको हाेस आएकाे छैन ।’
युवतीलाई छुरा प्रहार गरी गम्भीर घाइते बनाएर भाग्ने क्रममा साेही स्थानका व्यक्तिहरुले कुटपिट गरी विकलाई घाइते बनाएको प्रहरीले जनाएको छ । बिककाे हाेस नआए सम्म घटनाकाे यथार्थ बिवरण थाहा हुन नसक्ने तामाङ्ले बताइन् ।

















