झापा । चार महिना अघिदेखि बेपत्ता भएका झापा बाह्रदशी-५ का एक युवकलाई हत्या गरेर घरभित्र गाडेको आशंकामा प्रहरीले बिहीबार साँझदेखि उत्खनन् शुरु गरेको छ ।

छिमेकी गणेश राजवंशी र उनकी भाउजु मुना मेचे राजवंशीले हत्या गरेर आफ्नो घर आँगनमा शव गाडेको आशंकामा प्रहरीले बिहीवार साँझदेखि उत्खनन् गरेको हो । तर, हिजो रातिसम्म ठाकुरको शव फेला परेको छैन ।

आफ्नी आमा मुना र काका गणेशले राजेशको हत्या गरेर गाडेको कुरा मुनाका छोरा नरेशले बताएपछि प्रहरीले उत्खनन् थालेको हो । राजेशको शव गाड्ने काममा आफूले पनि सहयोग गरेको नरेशले स्वीकार गरेको बताइएको छ ।

घटनामा संलग्न भएको भनिएका गणेश दुबईमा छन् । घटना गराएर उनी विदेश गएको आशंका गरिएको छ । मुनाका श्रीमान अभय राजवंशी भने पहिलादेखि नै साउदी अरबमा छन् । काकी मुना र भतिज नरेशलाई पक्राउ गरी प्रहरीले अनुसन्धान थालेको छ । उत्खननका क्रममा मृतक राजेशले लगाएको लुगा, नुनको प्लास्टिकको खोलहरु र एउटा दाउ भेटिएको बताइएको छ ।

बिहीबार ४ घण्टा उत्खनन गरेकाे प्रहरीले शुक्रबार बिहानदेखि फेरी खाेज तलास गर्ने जनाएकाे छ । साे स्थानलाई अहिले प्रहरीले नियन्त्रणमा राखेकाे बताएकाे छ ।