बिर्तामोड । जेठ १५ गतेदेखि हराइरहेका झापाको बाह्रदशीका २१ वर्षीय राजेश हजामको टाउको र हड्डीहरु (कंकाल) फेला परेको छ ।
बाह्रदशी –७ लाफादी (विरिङ खोला किनार) मा पुरिएको अवस्थामा कंकाल फेला परेको जनाइएको छ । केही दिनदेखि हजामको शव खोजी गर्न प्रहरीले आरोपित मुना राजवंशीको घर, आँगन खन्नुका साथै बिरिङ खोलामा जेसिवी प्रयोग गरेर खोजिरहेको थियो ।
प्रहरीले पहिले एउटा घरमा उत्खनन् गरेको थियो भने आज विरिङ खोलामा जेसिवी प्रयोग गरेर शव खोज्ने क्रममा कंकाल फेला पारेको हो । प्रत्यक्षदर्सीका अनुसार शरिरको केही भाग कपडामा बेरिएको अवस्थामा भेटिएको छ ।
यसअघि हत्यामा संलग्न भएको आशंकामा प्रहरीले तीन जनालाई पक्राउ गरिसकेको छ । पक्राउ पर्नेमाहरुमा नरेश, मुना र समिर राजवंशी रहेका छन् । उनीहरुको बयानका आधारमा प्रहरीले खोजी गरिरहेको थियो । पक्राउ परेकाहरुले हत्या गरेर पुरेको ठाउँ बताएपछि प्रहरीले त्यहाँ उत्खनन् गरेको बताइएको छ ।

















