बिर्तामोड । बीएण्डसी अस्पतालका संचालक दुर्गा प्रसाईका ८ जना कार्यकर्तामाथि कर्तव्य ज्यानको मुद्धामा कानुनी कारवाही अगाडि बढाइएको छ ।
उनीहरुले आगजनी गरेको भारतीय ट्रकका चालकको मृत्यु भएपछि कर्तव्य ज्यानमा समेत थप प्रक्रिया कारवाही अगाडि बढाई अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
जिल्ला अदालत झापाबाट आपराधिक उपद्रव र ज्यान मार्ने उद्योगमा म्याद थप लिई अनुसन्धान भइरहेकोमा भारतमा उपचारार्थ ट्रक चालक पोदो रायको असोज १९ गते मृत्यु भएपछि सो सम्बन्धमा कानुन बमोजिम कर्तव्य ज्यानमा समेत थप कारवाही अगाडि बढाइएको प्रवक्ता कृष्णकुमार चन्दले बताए ।
राष्ट्र, राष्ट्रियता ,धर्म ,संस्कृति ,नागरिक बचाउ महाअभियानका केन्द्रीय संयोजक दुर्गा प्रसाई काठमाडौमा पक्राउ परेपछि आन्दोलित बनेका उनका कार्यकर्ताले असोज ६ गते राति १०.३० बजे कनकाई नगरपालिका वडा नं. ८ स्थित बिरिङ पुलमा भारतको सिलिगुडीबाट प्लाईको फेस पत्ता बोकी नेपालको सिरहातर्फ गइरहेको कुमार महतोले चलाएको युपी५७एटी४४९३ नं. को भारतीय ट्रक र सोही रातिको बिहान २.३० बजे बिर्तामोड नगरपालिका वडा नं. ६ गिरीबन्धु टि-इस्टेटस्थित पूर्वपश्चिम राजमार्गमा बिर्तामोडबाट काँकडभिट्टातर्फ जाँदै गरेको पोदो रायले चलाएको डब्लुबी७३ई३०५६ नं. को अर्को भारतीय ट्रकमा आगजनी गरेका थिए । मोटरसाइकलमा आएका प्रसाईंका कार्यकर्ताले ट्रक चालकलाई मार्ने उद्धेश्यले प्लाष्टिकको बोतलमा बोकेको पेट्रोलमा आगो लगाएर (पेट्रोल बम) ट्रकको क्याबिनमा प्रहार गरी आगजनी गरेका थिए ।
ट्रक चालक कुमार महतो घाइते भई भाग्न सफल भएका थिए भने अर्का ट्रक चालक पोदो राय जलेर गम्भीर घाइते भएका थिए । रायलाई बीएण्डसी अस्पतालमा उपचार गरी थप उपचारको लागि भारतको सिलिगुडीस्थित नर्थ बंगाल मेडिकल कलेज एण्ड हस्पिटल लगिएको थियो । उपचारका क्रममा उनको मृत्यु भएको हो ।
पक्राउ परी ज्यान मुद्धामा पर्नेहरुमा हल्दिबारी –१स्थायी ठेगाना भई हाल बिर्तामोड ५ बस्ने राष्ट्र अभियानको भ्रातृ संगठन पीडीएफका झापा संयोजक ४० वर्षीय भिम तुम्बापो लिम्बू, पीडीएफका सहसचिव बिर्तामोड– ७ बस्ने ३३ वर्षीय सुरेश चौधरी, पीडीएफका सदस्यहरु हल्दिबारी १ बस्ने २४ वर्षीय विवस लिम्बू, बुद्धशान्ति –४ बस्ने बलिहाङ माबो लिम्बू, पीडीएफका मेचीनगर इन्चार्ज मेचीनगर– ६ बस्ने ३४ वर्षीय राजेश महत, पीडीएफका कोषाध्यक्ष अर्जुनधारा– ९ बस्ने ३८ वर्षीय रुद्र भुजेल, पीडीएफका सल्लाहकार हल्दिबारी– १ बस्ने ५१ वर्षीय विरबहादुर गुरुङ र पीडीएफका सदस्य बिर्तामोड– ३ बस्ने ३५ वर्षीय उदय लिम्बू रहेका छन् ।
भारतीय ट्रक चालकको मृत्यु भएपछि उनका आफन्तहरुले आइतवार साँझ एसियन हाइवेको काँकडभिट्टा नाकामा पानीटंकीतर्फ शव राखेर प्रदर्शन गर्दै नाका अवरोध गरेका थिए । भारतीय प्रहरीले नेपाल प्रहरीसंग सहजीकरण गरी मृतकको शव नेपाल पठाएको थियो । प्रादेशिक अस्पताल भद्रपुरमा पोस्टमार्टम गरी प्रहरीले शव आफन्तलाई जिम्मा लगाएको छ ।

















