बिर्तामोड । किशोरीमथि जवरजस्ती करणी गरेको अभियोगमा बिर्तामोडका पुर्व मेयर ध्रुबकुमार शिवाकोटी पक्राउ परेका छन् ।
आफ्नै घरमा काम गर्न राखेको एक किशोरीमाथि पटक पटक करणी गरेको अभियोगमा शिवाकोटी पक्राउ परेका हुन् ।
शिवाकोटीलाई ईलाका प्रहरी कार्यालय काँकडभिट्टाले पक्राउ गरि अनुसन्धानका लागि ईलाका प्रहरी कार्यालय अनारमनी बुझाएको छ ।
करिब ८ बर्ष अघिदेखि शिवाकोटीको बिर्तामोड-५ मा रहेको घरमा घरेलु कामदारका रुपमा काम गर्दै आएकी १७ बर्षिया किशोरीलाई शिवाकोटीले पटकपटक करणी गरेको प्रहरीसँगको बयानमा खुलेको छ ।
बाबुको मृत्यु भएपछि उनी बिर्तामोडस्थित एक आफन्तकोमा बस्दै आएकी थिईन । शिवाकोटीका टाढाका आफन्त पर्नेका घरमा बस्दै आएकी किशोरीलाई शिवाकोटीले 'नातीको साथी' हुने भन्दै आफुले घरमा राखेर पढाउने भन्दै मागेका थिए ।
बाबुको मृत्यु भएपछि काँकडभिट्टामा रहेका आफन्तकोमा बस्दै आएकी उनकी आमाले पनि दोस्रो बिवाह गरेकी छन्। दोस्रो बिवाह गरेर पीडितकी आमा भारतको आसाममा बस्दै आएकी छन् ।
अभिभावक बिहिन किशोरी र उनका दाजु काँकडभिट्टामा रहेको आफन्तको आश्रयमा थिए । पीडितका दाजु काँकडभिट्टामा नै बस्न थाले भने उनी बिर्तामोडमा बस्न थालिन । सोही समयमा शिवाकोटीले उनलाई घरमा राखेर अध्ययनको व्यवस्था मिलाउने भन्दै लगेका बुझिएको छ ।
स्थानीय एक बिद्यालयमा ११ कक्षामा अध्ययनरत रहेकी उनलाई शिवाकोटीले पटक पटक करणी गरेको बताईएको छ । शिवाकोटीको शारीरिक शोषण सहन नसकेकी उनी भागेर भारतको आसाम जान लागेकी थिइन् । काँकडभिट्टा गेटमा शंकास्पद रुपमा भारत जान लागेकी उनलाई आफन्त नेपालका प्रतिनिधिले रोकेर सोधपुछ गरेका थिए । संस्थाका एक प्रतिनिधिका अनुसार स्कुल ड्रेसमा रहेकी उनी फेरि त्यहि घरमा जानुपर्छ भनेर अतालिएकी थिईन्। फकाएर सोधखोज गर्दा शिवाकोटीको कर्तुतका बारेमा उनले सार्वजनिक गरेको उनले जानकारी दिए ।
सोधपुछका क्रममा पुर्व मेयर शिवाकोटीको जवरजस्ती करणी गर्ने गरेका कारण नेपालमा बस्न नसकेको प्रतिक्रिया दिएकी थिईन । त्यसपछि प्रहरीले शिवाकोटीलाई नियन्त्रणमा लिएको हो । शिवाकोटी हाल ईलाका प्रहरी कार्यालय अनारमनीको हिरासतमा छन् ।
२०७४ सालको स्थानीय तहको निर्वाचनमा नेकपा एमाले पार्टीबाट प्रतिनिधित्व गर्दै बिर्तामोड नगरपालिकामा निर्वाचित भएका थिए । ५ बर्ष नगरपालिकाको मेयर भएका उनी किशोरीमाथि लामो समयदेखि करणि गरेको अभियोगमा सोमबार बिहान पक्राउ परेका हुन् ।

















