बिर्तामोड । जिल्ला प्रहरी कार्यालय झापाले भारतबाट नेपालतर्फ भन्सार छलेर ल्याउदै गरेको तीनलाख ४२ हजार मुल्य बराबरको मदिरा, घरायसी सामग्री र एकजनालाई पक्राउ गरेको छ।

हिजो साँझ मेचीनगर नगरपालिका-१३ स्थित चारआली चोकमा जिल्ला प्रहरी कार्यालय झापा र प्रहरी चौकी चारआलीबाट खटिएको संयुक्त प्रहरी टोलीले विभिन्न सवारी साधनहरुलाई चेकजाँच गर्ने क्रममा ती सामग्री बरामद भएको हो । 

प्रहरीले  ओल्ड मङक मदिरा १६८ पिस,  सिक्किम २००० लेखिएको  ७२ पिस बरामद गरेको जनाएको छ । बरामद मदिराको मूल्य २ लाख ४० हजार रहेको जनाइएको छ । मदिरा सहित मोरङको सुन्दरहरैचा नगरपालिका-८ बस्ने शंकरप्रसाद प्रसाईलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । 

यसैगरी मेचीनगर नगरपालिका-६ हनुमान मन्दिर नजिकबाट भारतबाट नेपाल तर्फ अबैध रुपमा लुकाई छिपाई ल्याउदैं गरेको चिनी ३०० केजी, दाल ४० केजी, चना ६० केजी, लसुन ७० केजी, बिस्कुट १५ केजी, चुईगम ६ वट्टा, भुटेको मटर १५ केजी, पास्ता ५ केजी, पानी पुरी १० केजी, सलाई २ बण्डल, खुर्सानी २ केजी, लेज ३ केजी बरामद भएको छ । 

बरामद सामग्रीको मूल्य ३ लाख ४२ हजार रहेको जनाइएको छ । बरामद सामग्री मेची भन्सार कार्यालय काँकडभिट्टा बुझाइएको प्रहरीले जनाएको छ ।