बिर्तामोड । पूर्वमुख्यमन्त्री तथा नेपाली कांग्रेसको कोशी प्रदेश सभापति एवम् प्रदेशसभा संसदीय दलका नेता उद्धव थापामाथि मुक्का हान्ने नेपाल विद्युत प्राधिकरणका कर्मचारीहरु धरौटीमा छुटेका छन्
अभद्र व्यवहार गरेको आरोपमा प्रहरीले मुद्धा दायर गरेका उनीहरु जिल्ला प्रशासन कार्यालयको आदेशमा रिहा भएका हुन् । नेपाल विद्युत प्राधिकरण सुरुङ्गाका कर्मचारीहरु शिवसताक्षी ११ का भक्तबहादुर कट्वाल र कन्काई ३ का पृथ्वी श्रेष्ठसंग प्रमुख जिल्ला अधिकारी गोपाल अधिकारीले बयान लिएपछि धरौटीमा छुटेका हुन् । उनीहरुलाई जनही ५–५ हजार रुपैयाँ धरौटी लिएर छोडिएको प्रमुख जिल्ला अधिकारी गोपाल अधिकारीले जानकारी दिए ।
अभद्र व्यवहार गरेको कसूरमा माघ ६ गते इलाका प्रहरी कार्यालय बिर्तामोडले ३ दिनको म्याद लिएर उनीहरुमाथि मुद्धा दायर गरेको थियो । पूर्वमुख्यमन्त्री तथा कांग्रेस नेता थापामाथि माघ ५ गते साँझ कुटपिट भएको थियो ।
कन्काई नगरपालिकाको जुके कल्भर्टनजिक थापामाथि उनीहरुले मुक्का हानेका थिए । बा १ झ ६५३ नं को गाडीमा घर फर्किदै गरेका अर्जुनधारा ७ निवासी थापामाथि बा १ ञ १८७० मा सवार विद्युत प्राधिकरण सुरुङ्गाका ती कर्मचारीहरुले कुटपिट गरेका थिए । कुटपिटबाट थापा घाइते भएका थिए । उनको देब्रे आँखा सुन्निएको थियो । उनको अस्पतालमा उपचार गरिएको थियो ।
विद्युत प्राधिकरण सुरुङ्गाका कर्मचारी सवार गाडीले पूर्वमुख्यमन्त्री थापा चढेको गाडीलाई सुरुङ्गा पुलनजिक डाइभर्सनमा साइड नदिएको भन्दै विवाद भएको थियो ।



















