बिर्तामोड । झापामा ठूलो परिमाणमा लागूऔषध ब्राउन सुगर भित्र्याउने गिरोहका दुईजनालाई प्रहरीले पक्राउ गरेर सार्वजनिक गरेको छ । 

मध्य दक्षिण झापाको टाघनडुब्बा नाकाबाट लागूऔषध भित्र्याउने गिरोहका दुईजना भारतीयलाई प्रहरीले गोली हानेर पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा भारत डिगलबैंक थाना वडा न-५ का बर्ष २८ का अन्जार आलम र मोटरसाइकल पछाडी सवार उनका सहोदर भाई अन्दाजी बर्ष १९ का युसुब आलम रहेका छन् । 

नियन्त्रणमा लिने क्रममा प्रहरीले चलाएको गोली लागेर अन्जार आलम घाइते भएका छन् । उनको बिर्तामोडमा उपचार भईरहेको छ । 

प्रहरीले उनीहरूको साथबाट ३२ ग्राम ७५० मिलिग्राम लागूऔषध ब्राउन सुगर बरामद गरेको जनाएको छ । 

मंगलबार  साँझ ६ः३० बजे कनकाई नगरपालिका-४ को  भित्री सडकखण्डमा कुमरखोदबाट सुरुङ्गातर्फ आउँदैं गरेको बीआर ३७ एए ८४९८नम्बरको भारतीय मोटरसाइकलमा लागूऔषध ओसार पसार भइरहेको भन्ने गोप्य सूचनाको आधारमा लागूऔषध नियन्त्रण ब्युरो काँकरभिट्टा र इलाका प्रहरी कार्यालय सुरुङ्गाबाट खटिएको संयुक्त प्रहरी टोलीले उक्त मोटरसाइकलमा सवार लाई चेकजाँचको लागि रोक्न खोज्दा मोटरसाइकलको गति बढाएर चेकजाँंचमा खटिएको प्रहरीलाई ठक्कर दिएर उनीहरू भाग्न खोजेका थिए ।

उनीहरुलाई नियन्त्रणमा लिन पेस्तोलबाट चार राउण्ड हवाई फायर गर्दा समेत नरोकी भाग्दै गर्दा नियन्त्रणमा लिनका लागि अन्जार आलमको देब्रे घुँडामुनि एक राउण्ड गोली प्रहार गरी दुवै जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी कृष्णकुमार चन्दले बताए ।

उनीहरुलाई चेकजाँच गर्दा अन्जार आलमको साथबाट प्लाष्टिकसहित ३२ ग्राम ७५० मिलिग्राम ब्राउनसुगर बरामद भएको थियो । घाइते अन्जार आलमको प्रादेशिक अस्पताल भद्रपुरमा उपचार भइरहेको र सो सम्बन्धमा थप अनुसन्धान कार्य जारी रहेको डीएसपी  चन्दले जानकारी दिए ।