बिर्तामोड । झापा प्रहरीले लागूऔषध ब्राउन सुगरसहित ५ जनालाई पक्राउ गरेको छ । बिर्तामोड र भद्रपुरबाट उनीहरुलाई ब्राउनसुगरसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

प्रहरीले भद्रपुर नगरपालिका-५ मेची पुलबाट हल्दीबारी गाउँपालिका-१ बस्ने बर्ष ३० को तोयानाथ बास्कोटा र सोही गाउँपालिका-२ बस्ने बर्ष २२ को निश्चल खत्रीलाई १ ग्राम २४० मिलिग्राम ब्राउन सुगरसहित नियन्त्रणमा लिएको जनाएको छ । उनीहरु सवार स-८-प-९०११ नम्बरको मोटरसाईकल पनि प्रहरीले नियन्त्रणमा लिएको छ । 

यसै गरी भारतबाट नेपाल तर्फ पैदल आउँदै गरेको जिल्ला पाँचथर फिदिम नगरपालिका-४ बस्ने बर्ष २० को पारस राजवंशीलाई ४ ग्राम ०९ मिलिग्राम ब्राउन सुगरसहित नियन्त्रणमा लिएको छ । 

यस्तै अस्थाई प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरी टोलीले अर्जुनधारा नगरपालिका-११ नयाँ बसपार्कबाट इलामको सुर्योदय नगरपालिका-५ बस्ने बर्ष २३ को प्रशिष खड्का र अर्जुनधारा नगरपालिका-६ बस्ने बर्ष ४० को सुवास खवासलाई ३ ग्राम २७० मिलिग्राम ब्राउनसुगरसहित नियन्त्रणमा लिएर अनुसंधान गरिरहेको जनाएको छ ।