बिर्तामाेड । धारिलाे हतियार प्रहार गरी तीनजनालाई घाइते बनाएको घटनामा संलग्न खगेन्द्र खालिङ राई पक्राउ परेका छन् ।

उनलाई बिर्तामोड २ चारपानेबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी खगेन्द्र खड्काले जानकारी दिए । अन्य संलग्नहरुको पहिचान गरी खोजी भइरहेको उनले जानकारी दिए ।

गएराती बिर्तामोड–४ स्थित कर्णाली सहकारीको कार्यालयदेखि पश्चिमपट्टि ४५ वर्षीय खगेन्द्र खालिङ राई बस्ने डेराको अगाडि हतियार प्रहार भएको हो । खालिङ केही वर्षदेखि गणेश प्रसाईको घरमा डेरा लिई बस्दै आएका छन् । विवादका क्रममा खालिङलगायतको समूहले धारिलो हतियार प्रहार गर्दा युवा संघका केन्द्रीय सदस्यसहित तीनजना घाइते भएका छन् । घाइते हुनेहरुमा राष्ट्रिय युवा संघका केन्द्रीय सदस्य तथा झापा जिल्ला इन्चार्ज बिर्तामोड नगरपालिका वडा नम्बर ४ बस्ने खगेन्द्रराज आङदम्बे , एमालेका बिर्तामोड नगर कमिटी सदस्य वडा नम्बर ९ बस्ने विश्वदीप राजवंशी र एमालेकै कार्यकर्ता वडा नं ४ बस्ने अजय खवास रहेका छन् । घाइतेहरुको अस्पतालमा उपचार भइरहेको छ ।

उनीहरुलाई खालिङलगायतको २–३ जनाको समूहले धारिलो हतियार प्रहार गरी कुटपिट गरी घाइते बनाएको बताइएको छ । गएराति बिर्तामोड नगरपालिका-४ मा रहेकाे दरबार रेस्टुरेन्टमा रेस्टुरेन्टमा उनीहरु संगै बसेका थिए । त्यसपछि खगेन्द र उनका भतिजा दुर्गा  कोठामा फर्किएका थिए । कोठामा आएर खालिङले आङदम्बेलाई बोलाएर हतियार प्रहार गरेको बताइएको छ ।