बिर्तामाेड । इलामकाे सुर्याेदय नगरपालिका-६ कन्याममा गाेठमा बाँधिएकाे गाेरु काटिएकाे छ । गाेरुकाे मासु खानका लागि अज्ञात व्यक्तिले गाेरुकाे फिला काटेर मासु लगेकाे गाेरुधनी रामबहादुर राईले जानकरी दिए ।
गाेरुकाे एकापटीकाे फिला काटेर अन्दाजी ४ केजी मासु लगेकाे अवस्थामा फेला परेकाे राईले बताए । ‘एकदमै क्रुरतापूर्वक जिउँदो गोरूको फिला काटिएको छ’ उनले भने, ‘हेर्न पनि नसकिने यस्तो काम कसले गर्यो पत्ता लगाउन सकिएको छैन- गाेरुधनी राईले भने, यसअघि पनि सो गोरुकाे फिला काटेर लगिएको थियो । घरेलु उपचारपछि निको हुँदै गएको थियो । लामो समयपछि गोरु बिस्तारै तंग्रिदै थियो । तर, फेरि उसैगरी गोरुको फिलाको मासु काटेर लगेछन् ।’
उक्त गोरुको एकापाटा फिलाको भाग नै छैन । हड्डीसम्म खुर्किएर मासु निकालिएको छ । पछिल्लाे समयमा फिलाकाे मासु काटेपछि गाेरु मरेकाे छ । घरभन्दा १ सय मिटर टाढा गाेठ भएका कारण जिउँदाे गाेरुकाे फिला काट्ने मान्छे अहिलेसम्म पत्ता लगाउन सकिएकाे छैन ।
आफ्नो गोठमा बाँधिएको गोरुको फिला काट्ने क्रम नरोकिएपछि राईले स्थानीय जनप्रतिनिधि, प्रहरीलाई बोलाएर कारबाहीको लागि अनुरोध गरेका थिए । तर, उनीहरुले अभियुक्त पत्ता लगाउन नसकिएकाे भन्दै घटनालाई सामसुम बनाएका थिए ।

















